काठमाडौं । नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज यहाँ हुँदैछ ।
नेपाल र रुसले कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्ष मनाइरहेका बेला हुन लागेको बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव अमृतबहादुर राईले र रुसी प्रतिनिधिमण्डलको नेतृत्व नेपाल भ्रमणमा रहेका रुसी उपविदेशमन्त्री आन्द्रेई रुडेन्कोले गर्नेछन् ।
नेपाल र रुसबीच नियमित परामर्श तथा द्विपक्षीय, क्षेत्रीय र अन्तरराष्ट्रिय विषयमा विचार आदानप्रदान गर्ने उद्देश्यले सन् १९९५ मा परामर्शसम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएको थियो । संयन्त्रको पहिलो बैठक सन् २००७ मा मस्कोमा र दोस्रो बैठक सन् २०१८ अप्रिल १७ मा काठमाडौंमा भएको थियो ।
आजको बैठकमा नेपाल–रुस सम्बन्धको समग्र अवस्थाको समीक्षा गर्नुका साथै व्यापार, लगानी, पर्यटन, शिक्षा, संस्कृति तथा प्राविधिक सहयोगलगायतका क्षेत्रमा सहकार्य विस्तारका विषयमा छलफल हुने अपेक्षा गरिएको छ । क्षेत्रीय तथा अन्तरराष्ट्रिय मामिला र बहुपक्षीय मञ्चमा सहकार्यका विषयले पनि बैठकमा स्थान पाउनेछन् ।
यसैबीच, उपविदेशमन्त्री रुडेन्कोले मंगलबार साँझ काठमाडौंमा रुसी दूतावासले आयोजना गरेको ‘ओपन डाइलग’मा बाढीबाट नेपालमा भएको जनधनको क्षतिप्रति नेपाल सरकार र नेपाली जनताप्रति गहिरो समवेदना व्यक्त गरे ।
उनले प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको महासभामा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको जोखिमबारे उठाएको विषयको प्रशंसा गर्दै जलवायु परिवर्तनसम्बन्धी समस्या विश्वका लागि ‘अलार्म बेल’ भएको बताए ।