आइतवार, श्रावण २४ गते २०८३

नेपालमा १५ देखि १९ वर्षका १४ प्रतिशत किशोरी गर्भवती !

शुक्रवार , आषाढ ८, २०८०

काठमाडाैं। नेपालमा किशोरी अवस्थाको प्रजनन दर उच्च रहेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण प्रतिवेदन-२०२२ का अनुसार १५ देखि १९ वर्ष उमेर समूहका १४ प्रतिशत किशोरीहरू गर्भवती हुने गरेका छन् ।

सो उमेर समूहका १० प्रतिशतले बच्चा जन्माउने गरेको र २ प्रतिशतको गर्भपतन हुने गरेको पनि प्रतिवेदनमा उल्लेख छ । १५-१९ वर्ष समूहका ३ प्रतिशतको विवाह १५ वर्षकै उमेरमा हुने गरेको छ भने १ प्रतिशत १५ वर्षकै उमेरमा गर्भवती हुने गरेको पाइएको छ । किशोरी गर्भवती हुने दर सबैभन्दा धेरै मुस्लिम समुदायमा २२ प्रतिशत र दलित समुदायमा २१ प्रतिशत रहेका छन् ।

सबैभन्दा कम ब्राम्हण/क्षेत्री समुदायका ८ प्रतिशत किशोरी गर्भवती हुने गरेको उल्लेख छ । त्यस्तै, कर्णाली प्रदेशमा सबैभन्दा धेरै २१ प्रतिशत र बागमतीमा सबैभन्दा कम ८ प्रतिशत किशोरी गर्भवती हुने गरेको प्रतिवेदनमा उल्लेख छ ।

 सर्वेक्षण अनुसार पाँच वर्ष मुनिको बाल मृत्युदर पनि घटेको छ । सन् १९९६ मा ५ वर्ष मुनिका प्रति हजारमा जीवित जन्ममा १ सय १८ मृत्यु हुने गरेकोमा हाल प्रति हजार जीवितमा ३३ को मृत्यु हुने गरेको पाइएको छ । त्यस्तै, प्रत्येक ३० मध्ये १ बच्चाको पाँच वर्ष नपुग्दै मृत्यु हुने गरेको देखिएको छ ।

नेपालले कुल प्रजनन् दरलाई २.१ मा घटाउने दिगो विकास लक्ष्य २०३० लाई पूरा गरेको छ । विगत साढे  दुई दशकमा नेपालमा प्रजनन दर आधाले घटेको छ । सन् १९९६ मा प्रति महिलाले ५ बच्चा जन्माउने गरेकोमा सन् २०२२ मा प्रति महिला २.१ बच्चा जन्माउने गरेको पाइएको छ ।

यस्तै, सन् १९९६ मा ५७ प्रतिशत रहेकोमा पुड्कोपन घटेर सन् २०२२ मा २५ प्रतिशतमा झरेको छ । यसैगरी, नेपालमा १५ देखि ४९ वर्ष उमेर समूहका दुई तिहाइ महिलाहरू कुनै न कुनै   स्वास्थ्य समस्याबाट ग्रसित हुने गरेको देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार