काठमाडौं। कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले विश्वासको मत लिने तयारी गरेका छन्। केन्द्रमा समीकरण फेरिएपछि सरकारमै रहेका जनता समाजवादी पार्टी र माओवादी केनद्रले प्रदेशमा समेत सरकारलाई दिएको सर्मथन फिर्ता लिएपछि एमाले नेतृत्वको सरकार अल्पमतमा परेको थियो।
अल्पमतमा परेपछि कार्कीले जेठ ३२ गते अध्यादेशमार्फत प्रदेश सरकारको बजेट ल्याएका थिए। समर्थन फिर्ता लिएको ३० दिनभित्र पुनः विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्रीले विश्वाको मत लिन लागेका हुन्।
विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश प्रमुख पर्शुराम खापुङले असार १४ गते प्रदेशसभाको दोश्रो अधिवेशन बोलाएका छन्।
कोशी प्रदेश सरकारलाई एमालेका ४० र राप्रपाका ६ सांसदको मात्रै समर्थन रहेको छ । ९३ सदस्य रहेको प्रदेश सभामा बहुमत पुर्याउन ४७ सीट आवश्यक रहेको छ।
यस्तै कोसीका विपक्षी गठबन्धन दलहरूले मुख्यमन्त्री कार्कीको विश्वासको मत ‘फेल’ गराउने निणर्य गरेका छन् । गठबन्धन दलहरूको आज बसेको बैठकले विश्वासको मतसम्बन्धी प्रस्तावलाई ‘फेल’ गराउने निणर्य गरेको हो ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) का कोसी प्रदेश संसदीय दलका नेता, प्रमुख सचेतक, सांसद तथा पार्टी नेतृत्वको संयुक्त बैठक बसेको हो ।
बैठकमा सहभागी नेपाली कांग्रेसका प्रदेश सभा सदस्य केदार कार्कीले मुख्यमन्त्रीले ल्याउने विश्वासको मतसम्बन्धी प्रस्ताव फेल गराउने र गठबन्धन दलबाटै नयाँ सरकार गठनको प्रक्रिया थाल्ने गर्ने निणर्य भएको जानकारी दिए।