काठमाडौं। देशभरका ७५३ स्थानीय तहमध्ये ७११ स्थानीय तहले समयमै बजेट ल्याएका छन् । असार १० भित्रमा बजेट ल्याउनुपर्ने कानूनी व्यवस्थाका वावजुत ४२ स्थानीय तहले समयमै बजेट ल्याउन नसकेका हुन् ।
यो अवधिमा ३९ गाउँपालिका र १३ नगरपालिकाले बजेट नल्याएको गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका महासंघले जनाएको छ ।
यद्यपी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमा भने यो समाचार तयार पार्दासम्म २१८ स्थानीय तहले मात्रै बजेट प्रबिष्ट गरेका छन् । मन्त्रालले सोमबार मात्रै सबै स्थानीय तहरुलाई सभामा पेश भएको बजेट प्रविष्ट गर्न निर्देशन पत्र पठाइएको छ ।
समयमा बजेट ल्याउन नसक्ने स्थानीय तहमध्ये सबैभन्दा बढी २३ वटा पालिका मधेश प्रदेशका छन् । मधेश प्रदेशको १३६ स्थानीय तह मध्ये २३ पालिकाले सभामा बजेट पेश नगरेका हुन् ।
५९ गाउँपालिका रहेको मधेश प्रदेशमा १३ गाउँपालिकाले बजेट ल्याएका छैनन् । यस्तै मधेश प्रदेशमा रहेका ७७ वटा नगरपालिकामध्ये ६७ वटाले मात्रै ल्याएका हुन् । चालु आवमा पनि मधेश प्रदेशमा नै बजेट पेश नगर्ने समस्या देखिएको थियो ।
देशभरका आधिकांस स्थानीय तहहरुमा मेयर-उपमेयरको द्धन्द्ध तथा आन्तरिक विवादका कारण बजेट आउन सकेको छैन । केही पालिकामा भने नगरप्रमुख बिरामी परेकाले तथा कर्मचारीहरुको अभाव लगायत कारणले बजेट आउन नसकेको हो ।
गाउँपालिका राष्ट्रिय महासंघका कार्यकारी निर्देशक राजेन्द्र प्याकुरेलले समयमै बजेट ल्याउने पालिकाहरुको समेत बजेट पास हुन नसक्ने सम्भावना हुने भएकाले ढिलै भएपनि विवादरहित रुपमा अरु पालिकाले बजेट ल्याउनेमा विश्वास व्यक्त गरे।
यस्तै नेपाल नगरपालिका संघका अध्यक्ष भिम प्रसाद ढुंगानाले आन्तरिक विवाद रहेका पालिकाले असार मसान्तसम्म पनि बजेट ल्याउन नसके सम्बन्धित पालिकामै पुगेर आफूहरुले समन्वय गर्ने बताएका छन्।