बुधवार, आश्विन २१ गते २०८३

आफ्नै सांसदका असन्तुष्टिको बेवास्ता गर्दै बजेट पास गर्न ह्वीप!

मंगलवार , आषाढ १२, २०८०

काठमाडौं। आफ्नै सांसदहरुको चर्को असन्तुष्टिको वेवास्ता गर्दै सत्तारुढ दलहरूले ह्वीप लगाएर बजेट पास गर्ने तयारी गरेका छन् । सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादीले बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरेका हुन् ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बुधबार विनियोजन विधेयक निणर्यार्थ प्रस्तुत हुने भएकाले सांसदलाई अनिवार्य उपस्थित हुन र पक्षमा मतदान गर्न ह्वीप जारी गरेका हुन्। 

त्यस्तै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पनि बुधबार विनियोजन विधेयक निणर्यार्थ पेश हुने भएकाले अनिवार्य उपस्थित भई पक्षमा मतदान गर्न ह्वीप जारी गरेका छन्। बजेटको पक्षमा मतदान गर्नको प्रधानमन्त्री प्रचण्डको  निर्देशन अनुसार ह्वीप जारी गरिएको उनको भनाई छ ।

बजेटको चर्को विरोध गरिरहेको माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले भने ह्वीप जारी नगर्ने भएको छ । सत्तारुढ अर्को घटक नागरिक उन्मुक्ति पार्टीले बजेटको पक्षमा मतदान गर्ने निणर्य गरेको छ । सत्तारुढ जसपाले भने संसदीय दलको बैठक बसेर बजेटबारे निणर्य गरिने जानकारी दिएको छ ।

केही दिनअघि जसपाका अध्यक्ष उपेन्द्र यादवले बजेट संशोधन नभए पास हुन नसक्ने चेतावनी दिएका थिए। बजेटप्रति असन्तुष्ट जनमत पार्टी अध्यक्ष सिके राउतले पनि बजेट संशोधन नभए पक्षमा उभिन नसकिने बताईसकेका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार