बुधवार, आश्विन २१ गते २०८३

कोशीमा सर्वदलीय सरकार गठनका लागि आह्वान

बिहिवार , आषाढ १४, २०८०

काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले प्रदेशसभामा विश्वासको मत सम्बन्धि प्रस्ताव पेश गरेका छन्। बिहीबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री कार्कीले सो प्रस्ताव पेश गरेका हुन्।

लगत्तै सो प्रस्तावका विषयमा दलका तर्फबाट सांसदहरुले आफ्ना कुरा राखेपछि सभामुख बाबुराम गौतमले ३० मिनेटका लागि बैठक स्थगित भएको जानकारी प्रदेशसभालाई गराए।

यसपछि कार्कीले छलफलको क्रममा दलका नेताहरूले उठाएको सवालमा जवाफ दिनेछन् । त्यसपछि मतदानको प्रक्रिया सुरू हुनेछ । यस्तै आजको बैठकमा मुख्यमन्त्री कार्कीले बजेट अध्यादेश पेश गरेका छन्।

आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका कार्कीले जेठ ३२ गते अध्यादेशबाट बजेट ल्याएका थिए। अल्पमतमा परेपछि जेठ ३१ गते बजेट अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याएका थिए। बिहीबारबाट सुरु तेस्रो अधिवेशनको पहिलो बैठकमा बजेट अध्यादेश पेश गरे।

लगत्तै प्रदेशसभामा विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले आफूलाई सबै प्रदेशसभाले विश्वासको मत दिनुपर्ने बताए। आफूलाई विश्वासको मत नदिए अर्को सरकार पनि बन्न नसक्ने दाबी गर्दै कार्कीले मुख्यमन्त्री भएको ६ महिनासम्म आफू कँही पनि नचुकेको र विश्वासको मत नदिनेहरुप्रति नै  अविश्वास पैदा हुने बताएका छन्।

मुख्यमनत्री कार्कीले प्रदेशको औचित्यमाथि उठेका प्रश्नहरुलाई बल थप्ने काम नगर्न आग्रह गर्दै सर्वदलीय सरकार गठनका लागि समेत अपील गरे।

नेपाली कांग्रेस कोशी प्रदेशका संसदीय दलका नेता उद्वव थापाले मुख्यमन्त्रीली राजीनामा दिएर मार्ग प्रशस्त गर्नु पर्ने बताएका छन्। प्रदेश सभाको बैठकमा उनले विश्वासको मत लिन गणितले नपुग्ने भएकाले मुख्यमन्त्री कार्कीले राजीनामा दिएर भोलि आउने सरकारलाई मार्ग प्रशस्त गर्न सुझाव दिएका हुन्। मुख्यमन्त्री हिक्मत कार्कीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावका विषयमा छलफलका क्रममा बोल्दै दलका नेता थापाले राजीनामा दिनुपर्ने बताए। 

यस्तै नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले एमालेले पेल्न छाडे आफूहरू पार्टी एकता गर्न तयार रहेको बताएका छन्। प्रदेशसभामा मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासका मत मागेपछि छलफलको क्रममा बोल्दै उहाँले सपनामा पनि एमालेकै भाषण गरेको देख्ने गरेको बताए।

उनले एमाले छाड्दा बेहुलीले घर छाड्दाभन्दा बढी दुःख लागेको समेत सुनाए। 
राष्ट्रिय प्रजातन्त्र पार्टीले भने मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने भएको छ । यस्तै जनता समाजावादी पार्टीले कार्कीलाई विश्वासको मत नदिने निणर्य गरिसकेको छ । सभामा पनि बोल्न अस्वीकार गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार