बुधवार, आश्विन २१ गते २०८३

ललिता निवास प्रकरणमा मेरो स्वार्थ छैन, छिटो टुंगो लागाेस् : बाबुराम

आइतवार , आषाढ १७, २०८०

काठमाडौं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा आफ्नो स्वार्थ नजोडिएको जिकीर गरेका छन्। 

ललिता निवास प्रकरणमा तत्कालीन प्रधानमन्त्री भट्टराईको पनि नाम जोडिएपछि उनले सामाजिक सन्जालमार्फत् स्पष्टीकरण दिएका हुन्।

नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहेका भट्टराईले सबै कुरा अहिले आफूलाई सम्झना नभएको बताउँदै भनेका छन्, ‘मलाई हल्का सम्झना भएसम्म राज्यको समरजंग कम्पनीको नाममा दर्ता भएको करिब तीन रोपनी जग्गा पशुपति टिकिन्छा गुठीको भन्ने भएकाले वास्तविक तथ्यप्रमाण अभिलेख जाँचबुझ गरी नियम अनुसार गर्ने वा यस्तै आशयको नीतिगत निर्णय भएजस्तो लाग्छ । यो कुरा मैले अख्तियारको टोलीले केही वर्ष पहिले लिएको बयानमा पनि भनेको छु । तत्कालीन प्रमको हैसियतले मसँग जोडिएको कुरा यत्ति हो ।’

उनले थप लेखेका छन्, ‘त्यसपछि केकसो भयो मलाई थाहा हुने कुरो भएन । कुनै पनि ढंगले यो प्रकरणमा मेरो वा मेरो निकट कुनै व्यक्तिको स्वार्थ जोडिएको छैन र कसैले आजसम्म त्यस्तो आरोप लगाएको पनि छैन ।’

No description available.

भ्रष्टाचार गर्नेहरुलाई कारबाही गर्नुपर्छ भनेर आफूले संसद र बाहिर पनि आवाज उठाइरहेको बताउँदै उनले यसमा आफू आजीवन प्रतिबद्ध रहेको बताएका छन् ।

‘देशमा राज्यको सम्पत्ति निजी लाभको निम्ति दोहन गर्ने र शक्तिको दुरूपयोग गर्ने प्रवृत्ति भयंकर रूपले झांगिएको स्थितिमा ललितानिवास लगायत सबै भ्रष्टाचारका काण्डहरूको निष्पक्ष छानविन होस् र दोषीलाई कडाभन्दा कडा कार्वाही होस् भन्ने कुरा मैले संसदमा र बाहिर पनि निरन्तर उठाउँदै आएको छु । त्यसमा म आजीवन प्रतिबद्ध रहनेछु ।’

ललिता निवास र यस्तै प्रकारका अरु प्रकरणको पनि छिटो टुंगो लाग्नुपर्नेमा समेत उनले जोड दिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार