काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराउनुभएको स्वास्थ्योपचारको खर्चबापतको ५५ लाख रुपैयाँ सरकारले नै बेहोर्ने भएको छ । असार १२ गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलले भारतमा गराउनुभएको उपचारको खर्च बेहोर्ने निणर्य गरेको हो ।
राष्ट्रपति पौडेलले भारतमा उपचार गर्न जाँदा र आउँदा लागेको हवाई भाडा, अस्पतालको खर्च र सुरक्षाकर्मीहरुको दैनिक भ्रमणभत्ता लगायतमा ५५ लाख २ हजार २ सय ७९ रुपैयाँ बेहोर्ने निणर्य भएको छ ।
मन्त्रिपरिषद्ले गरेको निणर्य परराष्ट्र मन्त्रालयमा १५ गते प्राप्त भएको र सोहीअनुसार रकम निकासाका लागि अर्थ मन्त्रालयलाई अनुरोध गरिएको परराष्ट्रका लेखा शाखाका उपसचिव भेषप्रसाद भुर्तेलले जानकारी दिए।
यसअघि राष्ट्रपति आफैंले उपचार खर्च बेहोर्न चाहेको भनी उनको कार्यालयबाट सूचना सार्वजनिक भएको थियो ।
तर, अहिले भने सरकारले नै सो रकम तिर्ने निणर्य भएको छ । राष्ट्रपति पौडेल गत वैशाख ६ गते स्वास्थ्य परीक्षणका लागि श्री एयरलाइन्सको चार्टर एयर एम्बुलेन्समार्फत भारत गएका थिए।
उनी त्यहाँ १० दिन उपचार गराई वैशाख १७ गते नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किएका थिए।