बुधवार, आश्विन २१ गते २०८३

प्रधानमन्त्रीको राजीनामा माग गर्दै राष्ट्रिय सभा बैठकमा एमालेकाे अवराेध

बुधवार , आषाढ २०, २०८०

काठमाडौं। नेकपा (एमाले)ले संसद् बैठक अवरुद्ध गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सदन अवरोध गर्ने निर्णय गरेको एक सांसदले बताए ।  

प्रधानमन्त्री प्रचण्डले पुस्तक विमोचन कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन प्रीतम सिंह पटकपटक भारत गएको अभिव्यक्ति दिएका थिए ।

सोही विषयमा एमालेले आपत्ति जनाएको हो । प्रतिनिधिसभाको आज दिउँसो ३ बजे बैठक बस्दै छ ।

यस्तै राष्ट्रिय सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को राजीनामा माग गरेका छन् । प्रधानमन्त्री दाहालको अभिव्यक्तिलाई लिएर एमाले सांसदहरूले बैठक सुरू हुनेवित्तिकै राजीनामा माग गरेका हुन्।

आजको बैठकमा  विनियोजन विधेयकमाथि छलफल हुने कार्यसूची थियो। एमाले सांसद देवेन्द्र दाहालले प्रधानमन्त्रीको अभिव्यक्तिले देशको गरिमामा आँच पुर्‍याएको बताए।

दाहालले भने, ‘गत असार १८ गते भारतीय नागरिक प्रीतम सिंहको जन्म दिनको अवसरमा उनकी छोरीको पुस्तक विमोचमा प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर देशव्यापी विरोध भइरहेको छ । हाम्रो देशको प्रधानमन्त्री कसले नियुक्ति गर्छ ? प्रीतम सिंह राजनीतिमा चासो राख्नुहुन्थ्यो र मलाई प्रधानमन्त्री बनाउन भूमिका खेलेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक छ । प्रधानमन्त्रीज्यूले जवाफ नदिँदासम्म बैठक सञ्चालन हुन दिँदैनौं।'

उनले भारतको इसारामा चल्ने प्रधानमन्त्री स्वीकार्य नहुने बताए।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार