बुधवार, आश्विन २१ गते २०८३
प्रधानमन्त्रीकाे गैरजिम्मेवार अभिव्यक्ति

आफ्नै अभिव्यक्तिले विवादमा प्रचण्ड, संसदबाटै मागियो राजीनामा

बुधवार , आषाढ २०, २०८०

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंहले पटक-पटक दिल्ली धाएको अभिव्याक्ति दिएपछि विवादित बनेका छन्।

सोमबार नेपालमा पहिलोपटक ट्रक ल्याएका सरदार समुदायका प्रितम सिंहमाथि करनदीप सिन्धुले लेखेको ‘रोड्स टु द भ्यालीः द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो विवादास्पद अभिव्याक्ति दिएका थिए।

उनको यो अभिव्याक्तिपछि प्रधानमन्त्री दाहालले नेपाली सार्वभौमिकताको विरुद्धमा संसदको समेत अपमान हुनेगरि अभिव्याक्ति दिएको भन्दै चौतर्फी आलोचना भएको छ । 

सोही बिषयलाई लिएर बुधबार बसेका संघीय संसदका दुबै सदन अवरुद्ध भएका छन् । दाहालले प्रधानमन्त्रीको हैसियतमा बसिरहने आधार गुमाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रतिनिधिसभा र राष्ट्रियसभामा अवरोध गरेको हो ।

दुबै बैठकमा एमालेका सांसदहरूले प्रधानमन्त्री दाहालको कडा आलोचना गर्दै राजीनामा मागेका छन् । सांसद रघु पन्तले प्रधानमन्त्रीको अभिव्यक्तिबाट देश नै रोएको भन्दै देशको गरिमा मेटेको टिप्पणी गरे। सांसद पन्तले प्रधानमन्त्री दाहालको राजीनामा पनि माग गरेका छन्। 

सांसद पन्तले प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद अगाडि बढ्न नसक्ने भनेपछि रास्वपा, राप्रपा लगायत दलका सांसदहरू पनि सिटबाट उठेर विरोध जनाएका थिए । सभामुख देवराज घिमिरेले बैठक नियमित रुपमा सञ्चालन गर्न खोजे पनि सांसदहरूको विरोधले संसद् बैठक अवरुद्ध भएको थियो ।

बुधबार नै राष्ट्रिय सभा बैठक पनि एमालेका सांसदले विरोध जनाउँदा अवरुद्ध भएको छ । त्यहाँ पनि एमालेका सांसदहरूले उठेर विरोध जनाएपछि बैठक अवरुद्ध भएको थियो । बैठक सुरु भएदेखि नै प्रधानमन्त्री पुष्पकमल दाहालको विवादित अभिव्यक्तिलाई लिएर राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले राजीनामा माग गरेका थिए।  

प्रधानमन्त्री भन्छन्ः  बबन्डर मच्चाउन खोजियो
प्रधानमन्त्री दाहालले भने सरदार प्रितम सिंहका बारेमा दिएको अभिव्यक्तिलाई लिएर बबन्डर मच्चाउन खोजिएको आरोप लगाएका छन् ।

बुधबार अनेरास्ववियु क्रान्तिकारीको प्रशिक्षण कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सो अभिव्यक्तिलाई लिएर बबन्डर मच्चाउन खोजिएको आरोप लगाएका हुन्।

आफूले पुस्तक विमोचन कार्यक्रममा सिंह सामाजिक सेवा र यातायातको क्षेत्रमा मात्रै नभइ राजनीतिमा पनि चासो राख्ने व्यक्ति भएको र आफूलाई प्रधानमन्त्री बनाउनका लागि कहिले दिल्ली, कहिले नेपालका पार्टीहरूसँग लाग्नुहुन्थ्यो भन्ने अभिव्यक्ति दिएको प्रधानमन्त्री दाहालले प्रस्ट पारेका छन् ।

प्रधानमन्त्री दाहालले बेलुनरूपी बबन्डर चाँडै फुट्ने पनि दाबी गरे । यस प्रकरणले विपक्षीमा पूर्वाग्रह देखिएको समेत प्रधानमन्त्री दाहालको भनाइ छ । ‘अब आज म सुन्दैछु, एउटा किताब विमोचन गर्दै गर्दा मैले बोलेको, उसले बोलेको कुरा मैले बोलेको, मेरो कुरा होइन । उसले बोलेको । मैले भनेँ उहाँ सामाजिक सेवा र यातायातको क्षेत्रमा मात्रै होइन, राजनीतिमा पनि उहाँले चासो राख्नुहुन्छ । उहाँले मलाई प्रधानमन्त्री बनाउन कहिले कहाँ पुग्नुहुन्छ, कहिले कहाँ पुग्नुहुन्छ, कहिले दिल्ली, कहिले नेपालका पार्टीहरूसँग लाग्नुहुन्थ्यो उहाँ भन्ने उहाँको बारेमा भनेको कुरालाई अब त्यसलाई उचालेर फेरि एक पटक बबन्डर गर्न खोजिएको छ, त्यो बेलुन पनि छिट्टै फुट्नेवाला नै छ । त्यसले केही दिनेवाला छैन । हाम्रा विपक्षीमा कति धेरै विक्षिप्तता छ, कति धेरै पूर्वाग्रह छ भन्नेकुरा देखिन्छ,’ प्रधानमन्त्री दाहालले भने ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार