कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन्। थापाले प्रदेशसभाका ४७ सदस्यको समर्थन आफूलाई रहेको भन्दै आज साँझ प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।
खापुङले थापालाई संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पाचौँ मुख्यमन्त्री नियुक्त गरेका हुन्। थापाले आफ्नो दलका २९ प्रदेशसभा सदस्य, माओवादी केन्द्रका १२ जना, नेकपा एकीकृत समाजवादीका ४ जना, जनता समाजवादी पार्टीका १ जना र सभामुख बाबुराम गौतमको आफूलाई समर्थन रहेको भन्दै दाबी पेश गरेका थिए।
सभामुखले दल त्याग गरिसकेको हुनाले सरकार गठन प्रक्रियामा गणना गरिनु असंवैधानिक हुने भन्दै यसअघि एमाले र राप्रपाले प्रदेश प्रमुखको ध्यानाकर्षण गराइसकेको छ ।
नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले हस्ताक्षर गरेको ज्ञापनपत्रमा सभामुख बाबुराम गौतमले २०७९ पुस २८ गते सदनमै माओवादी त्यागेको घोषणा गरेको स्मरण गराइएको छ ।
बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बराबर समीकरण भएको अवस्थामा सभामुखले सर्मथन गर्न पाउने भएपनि विश्वासको मत लिने समयमा राजीनामा गर्नुपर्ने अवस्था आउने बताए।
नवनियुक्त मुख्यमन्त्री थापाले सानो आकारको मन्त्रिमण्डल गठन गरेर सपथ ग्रहण गर्ने र त्यसपछि विश्वासको मतका लागि थप प्रदेश सांसदको समर्थन जुटाउने प्रयास जारी राख्ने बताए।
विश्वासको मतका लागि राप्रपालाई सरकारमा सहभागी गराएर समर्थन जुटाउने प्रयास जारी रहने र सर्मथन प्राप्त नभएका अवस्थामा सभामुखको निणर्ायक मतले पनि विश्वासको मत प्राप्त गर्ने उन भनाई छ।