काठमाडौं। नेपाली युवाहरुलाई देशभित्रै रोजगारीको व्यवस्था गर्न सांसदहरुले सरकारसँग माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै अधिकांश सांसदहरुले मुलुकभित्रै रोजगारीको व्यवस्था गर्न माग गरेका हुन् ।
पछिल्लो समय मुलुकभित्र युवा जनशक्ति भन्दा पनि बुढाबुढीहरुको संख्या बढेको सरकारी तथ्याङ्कले देखाएको उनीहरुको भनाई छ ।
नेकपा एमालेका सांसद लालप्रसाद साँवा लिम्बूले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको विदेश जानुभन्दा अघि सीप प्रमाणपत्र बनाउने वातावरण सरकारले बनाउनुपर्नेमा जोड दिए।
उनले सरकारले स्थानीय तहलाई सीपमुलुक तालिम दिने र अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्न पाउने अधिकार दिनसके दक्ष जनशक्ति उत्पादन हुने उल्लेख गरेका छन्। नेपाली श्रमिकहरु काम गर्न पुगेको देशहरुसँग सरकारले श्रम सम्झौता गर्न आवश्यक रहेको उनको भनाई छ ।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सरकारले वर्षैपिच्छे वैदेशिक रोजगारीलाई प्राथमिकता दिन नहुने बताएका छन्। मुलुक भित्रै युवाहरुलाई रोजगारी सिर्जना गर्ने वातावरण सरकारले बनाउनुपर्नेमा उनले जोड दिए।
सांसद पराजुलीले सरकारले सीप सिकाएर सिकेको सीपलाई प्रयोग गर्ने अनुकुल वातावरण बनाइदिनुपर्ने बताए।
त्यस्तै सांसद रामशंकर यादवले विदेशमा दुःख काट्ने नेपालीहरुलाई नेपालमा नै व्यवस्थित गर्न आवश्यक रहेको बताएका छन्। उनले वैदेशिक रोजगारीमा जानका लागि ऋण लिँदा नै मिटर ब्याजीहरुको जन्म भएको बताए।