काठमाडौं। मधेश प्रदेशको प्रदेशसभा बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले अवरुद्ध गरेको छ । अर्थमन्त्री सञ्जय कुमार यादवले नीतिगत भ्रष्टाचार गरेको आरोप लगाउँदै एमालेका सांसदहरूले प्रदेश बैठक अवरुद्ध गरेको हो ।
प्रदेशसभा बैठक सभामुख रामचन्द्र मण्डलले सुरु गरे लगत्तै एमालेका सांसदहरू उभिएर अवरुद्ध गरेका थिए । एमाले सांसद लखन दासले अर्थमन्त्री यादवले चालु आर्थिक वर्षको अन्तिममा विभिन्न मन्त्रालयबाट बजेट रकमान्तर गरी सर्लाहीमा मात्रै लगेको आरोप लगाए।
उनले बजेट रकमान्तरबारे मुख्यमन्त्री सरोज कुमार यादवसँग जवाफ माग गरे। २२ योजनाका लागि १४ करोड रकम सर्लाही जिल्लामा केन्द्रित गरेको उनको भनाई छ ।
यस्तै एमालेकै अर्का सांसद दीपेन्द्र ठाकुरले अर्थमन्त्री यादवले स्थानीय तहमा सशर्त बजेट कमिसन लिएर पठाएको आरोप लगाए। उनले अर्थमन्त्री र सरकार नीतिगत भ्रष्टाचार गरेको भन्दै मुख्यमन्त्री चित्तबुझ्दो जवाफ नदिएसम्म बैठक चल्न नदिने चेतावनी ससेत दिए। ठाकुरले आर्थिक मसान्तको अन्तिम समयमा बजेट रकमान्तर गरी अर्थमन्त्री र सरकारले नीतिगत भ्रष्टाचार गरेको आरोप लगाएका छन् ।
एमालेका सांसदहरू मुख्यमन्त्रीको जवाफ माग गर्दा सभामुख मण्डलले बस्न आग्रह गरेपनि अवरोध कायम रहेपछि सभामुख मण्डलले बैठक १० मिनेटका लागि स्थगित गरे।
प्रदेश सरकारले असार १ मा अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको थियो । त्यसको २३ औँ दिन आज प्रदेशसभा बैठक बसेको थियो । बजेटमाथि छलफल र छलफलमा उठेको प्रश्नको जवाफ अर्थमन्त्रीले दिने कार्यसूची रहेको छ ।