मलेसिया। गैरआवासीय नेपाली संघ एनआरएनए मलेसियाको जुलाई २९ र ३० मा हुने अधिवेशनका लागि निर्वाचन समिति बनाएकाे छ। क्वालालम्पुरमा बसेको राष्ट्रिय समन्वय परिषद बैठकले सर्वसम्मतले समिति गठन गरेको हाे।
आगामी २०२३-२५ कार्यकालको निर्वाचनको लागी निर्वाचन समितिको संयोजकमा आईसीसी सचिव एवं संघका पूर्व अध्यक्ष खगेन्द्र न्यौपानेलाई नियुक्त गरिएको छ । समितिका अन्य सदस्यहरूमा बाबुराम शर्मा, बिष्णु पौडेल, पर्शु गौली र भीम बहादुर बुढाथोकी रहेका छन्।
साे समिति गठन गरेर एनआरएनए मलेसियाका अध्यक्ष बिनोद थापाले निर्वाचन प्रमुख खगेन्द्र न्यौपानेलाई पत्र हस्तान्तरण गरेका छन्। गैरआवासीय नेपाली संघ मलेसियाका अध्यक्ष थापाले एनसीसी बैठकले संघको २०२३-२५ कार्यकालको अधिवेशनका लागी निर्वाचन समिति गठन गरेको बताए ।
संघका अध्यक्ष थापाको अध्यक्षतामा बसेको उक्त बैठकले सदस्यता आवेदनको अन्तिम मिति निर्धारण गरेको छ भने संघको अधिवेशन र संघको २०२३-२५ को कार्यसमितिको निर्वाचनको मिति जुलाई २९ र ३० गर्ने निर्णय गरेको छ । एनआरएनए मलेसियाको आगामी अधिवेशनका लागी ४६९९ ले सदस्यता लिएका छन्।
एनआरएनए मलेसियाले निर्वाचन समिति गठन गरि निर्वाचन संयोजकमा आईसीसी सचिव न्यौपानेलाई जिम्मेवारी दिएपछि उनले आफूलाई योग्य सम्झी उक्त जिम्मेवारी दिएकोमा एनआरएनए एनसीसी मलेसियाको कार्यसमितिलाई धन्यवाद व्यक्त गर्दै निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गराउने बताए ।
आईसीसी सचिव एवं पूर्व अध्यक्ष न्यौपानेलाई निर्वाचन प्रमुखको जिम्मेवारी दिएकोमा एनआरएनए मलेसियाका कार्यसमिति र मलेसियामा रहेका अन्य नेपाली संघ संस्थाहरूले पनि योग्य ब्यक्तिलाई उपयुक्त जिम्मेवारी दिएको भन्दै खुशी व्यक्त गरेका छन्।
न्यौपानेले आफू अध्यक्ष भएको बेला एनआरएनए मलेसियाको हकहितमा धेरै काम गरेका थिए । हाल एनआरएनए मलेसियाले विश्वका शक्तिशाली एनआरएनएको सुचीमा आफ्नो नाम लेखाउन सफल भएको छ ।