काठमाडौं । नेकपा माओवादी केन्द्रका पूर्वनेता टोपबहादुर रायमाझीले आफू औपचारिक रुपमा नेकपा एमालेमा प्रवेश नगरेको दाबी गरेका छन् । बुधबार सर्वोच्च अदालतमा सांसद पद पुर्नबहालीको माग गर्दै दायर गरेको रिटमा रायमाझीले आफू एमालेमा प्रवेश नगरेको दाबी गरेका हुन् ।
नेकपा माओवादी केन्द्र छाडी नेकपा एमालेको केपी ओली नेतृत्वमा जाने निर्णय गरेपछि माओवादी केन्द्रले रायमाझीलाई कारबाही गरेको थियो । सांसद पद र पार्टीको सदस्यबाटै निष्कासित गरेपछि सो को जानकारी संसद् सचिवालयलाई दिइएको थियो ।
माओवादी केन्द्रबाट निर्वाचित सांसद पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि संसद् सचिवालयले रायमाझीलाई गएको चैत २६ गते सांसद पदबाटसमेत हटाएको थियो ।
सांसद पदबाट हटाएको करिब ४ महिनापछि सर्वोच्च पुगेका रायमाझीले आफू नेकपा एमालेमा प्रवेश नगरेको दाबी गरेका हुन् । उनिसंगै माओवादी केन्द्र छोडेर नेकपा एमालेमा लागेका पूर्व सांसदहरु लेखराज भट्ट, प्रभु साह र गौरीशंखर चौधरीले पनि पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका छन् ।