बुधवार, आश्विन २१ गते २०८३
पक्राउ पर्नेको संख्या १६ पुग्यो

ललिता निवास प्रकरणः भूमि व्यवस्था विभागका पूर्वमहानिर्देशक र पूर्व उपसचिव पक्राउ 

मंगलवार , आषाढ २६, २०८०

काठमाडौं। ललिता निवास जग्गा प्रकरणमा पक्राउ पर्नेको संख्या १६ पुगेको छ । प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो सीआईबीले आज साँझ मात्रै दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भूमिसुधार तथा व्यवस्था विभागका पूर्वमहानिर्देशक रुद्रप्रसाद श्रेष्ठ  र तत्कालीन उपसचिव बालकृष्ण श्रेष्ठ रहेका छन् । 

भूमि विभागमा शाखा अधिकृत छँदा रुद्रप्रसादले २०४९ सालमा सरकारी जग्गा व्यक्तिका नाममा हुने गरी हालसाविक गर्न टिप्पणी उठाएको प्रहरीको अनुसन्धानमा खुलेको छ । पछि उनले महानिर्देशकबाट अवकाश पाएका थिए ।

श्रेष्ठले उठाएको टिप्पणीकै आधारमा तत्कालीन भोगाधिकारी सुवणर् शमशेर राणाका परिवारले २०४९ सालमा ११२ रोपनी ४ आना जग्गा हडपेका थिए । यसमा कर्मचारी, भूमाफिया र ब्यापारीको संलग्नता खुलेको थियो । 

यस्तै आजै पक्राउ परेका बालकृष्ण श्रेष्ठले भौतिक योजना तथा निर्माण मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर भएका बेला प्रधानमन्त्री निवास विस्तारका नाममा अघि सारिएको प्रस्तावमा किर्ते कागजात तयार पारी नक्कली मोहीलाई जग्गा सट्टा भर्ना दिने सम्बन्धी फाइलमा हस्ताक्षर गरेको सीआईबीको अनुसन्धानमा खुलेको छ ।

अर्का इन्जिनियर राजेन्द्र श्रेष्ठले किर्ते कागजातका आधारमा तयार पारेको किर्ते ब्यहोराको टिप्पणीमा बालकृष्णले हस्ताक्षर गरी स्वीकृतिका लागि भौतिक योजना तथा निर्माण मन्त्रालयमा पठाएका थिए ।

२०६६/६७ को उक्त विवादास्पद र फर्जी कागजात तयार पारिएको प्रस्ताव सचिव, मन्त्री हुँदै मन्त्रिपरिषद्बाट स्वीकृत गरिएको थियो । यो प्रकरणमा भूमाफिया र कर्मचारीले मात्रै २२ रोपनी जग्गा राणा परिवारबाट घूस लिएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार