शनिवार, कार्तिक १ गते २०८३

जनगणनामा त्रुटि रहेको पुष्टि, ७ लाख ७१ हजार जनसंख्या थपियो

बुधवार , आषाढ २७, २०८०

काठमाडौं। राष्ट्रिय जनगणना २०७८ मा करिव ८ लाख जनाको गणना छुटेको पुष्टि भएको छ । यसअघि जनगणनाको नतिजाले नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ जना देखाएको थियो ।

राष्ट्रिय जनगणनामा केही त्रुटि भएको छ कि भनेर यसको प्रभावकारिता पत्ता लगाउन गरिने ‘गणना जाँच सर्वेक्षण (पीईएस)ले ७ लाख ७१ हजार ९९८ जना व्यक्तिको गणना छुटेको पुष्टि गरेको हो ।

सर्वेक्षणबाट पत्ता लागेका जनगणनामा छुट मानिसहरु समेत जोड्दा नेपालको वास्तविक जनसंख्या २ करोड ९९ लाख ३६ हजार ५७६ पुगेको राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ढुण्डीराज लामिछाने जानकारी दिए। तर नेपालको जनसंख्याको आधिकारिक तथ्यांकहरुमा भने यसअघि सार्वजनिक भएको २ करोड ९१ लाख ६४ हजार ५७८ नै प्रयोग हुने उनको भनाई छ ।

यो जनगणनामा कुल २ दशमलव ७३ प्रतिशत त्रुटि देखिएको छ । जसमध्ये छुटपुट २.५८ प्रतिशत छ र दोहोरो गणना ०.१५ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ । यस हिसाबले गणना छुट भएको जनसंख्या २ दशमलव ५८ देखिएको र त्यसलाई प्राविधिक रुपमा ठूलो अंश भने नमानिने उनले बताए।

सर्वेक्षणको नतिजाले शहरी इलाकामा बढी मानिस जनगणनामा छुटेको पाइएको छ । ७ लाख ७१ हजार ९९८ जनामध्ये शहरमा ५ लाख ८५ हजार ७८२ र ग्रामिण क्षेत्रमा १ लाख ८६ हजार २१६ जना व्यक्ति जनगणनामा छुटेका छन् ।

८ क्षेत्र अनुसारको वर्गिकरणमा भने काठमाडौं उपत्यकामा धेरै जना छुट भएको पाइएको छ । काठमाडौंमा ४.४२ प्रतिशतको गणना छुटेको छ । त्यसपछि लुम्बिनी प्रदेशमा २.९९ प्रतिशतको गणना छुटेको पाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार