काठमाडौं। पशु चौपायामा महामारीको रुप लिएको ’लम्पी स्किन’को विषयले संघीइ संसदमा प्रवेश पाएको छ। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दैसांसदहरुले लम्पी स्कीन रोग महामारीका रुपमा फैलिदा सरकार गैर जिम्मेवार बनेको आरोप लगाएका छन् भने नियन्त्रणका लागि भएका प्रयासबारे संसदलाई जानकारी गराउन माग गरेका छन् ।
बैठकको सुरुआतमा एमालेका प्रमुख सचेतक पदम गिरीले लम्पी स्किन महामारीको रुप लिँदा पनि सरकार जिम्मेवार बन्न नसकेको आरोप लगाए।
चार महिनाको अवधिमा ८ लाख पशु चौपायाहरु संक्रमित भएको जानकारी गराउँदै उनले अवस्था विकराल हुँदा पनि सरकारले उदासिनता देखाएकोले किसानहरुले ३७ अर्बको क्षति ब्यहोर्नु परेको बताए। संसद विकास कोषको बजेट रकमान्तर गरेर भएपनि रोग नियन्त्रणका लागि पहल गर्नुपर्ने उनको धारणा छ ।
यस विषयमा सरकार नाजवाफ र जिम्मेवारीविहीन भएर सरकारले अभिव्यक्ति दिन मिल्दैन,' गिरीले भने 'पैसा नभएको हो भने निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमबाट रकमान्तर गरेर भए पनि किसानलाई राहत, औषधि र खोप उपलब्ध गराउनु पर्यो ।'
कांग्रेसका सांसद रामहरि खतिवडाले लम्पी स्किनको कारण गोरुहरु मर्दा रोपाइँ प्रभावित भएको बताए। खतिवडाले सबै भूभागमा यो संक्रमण दखिईसकेकाले सरकार गम्भीर बन्नुपर्ने बताएका छन्।
'लम्पी स्किन रोगले एउटा सबैतिर प्रभावित बनाएको छ । यो पहाडमा झनै विकराल अवस्था भएको छ,' उनले भने, 'गोरु मर्दा पहाडमा खेत नै बाँझो बस्ने अवस्था छ ।'
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले लम्पी स्किनको रोकथामका लागि सरकारी योजनाको विषयमा संसद्लाई जानकारी गराउन माग गरिन्। कार्कीले कृषि मन्त्रालयले महामारी नियन्त्रणका लागि संवेदनशीलता देखाउनु पर्नेमा जोड दिईन्।
'कृषिमन्त्री मन्त्रालयमा बस्नमात्रै जानु भएको होइन होला, लम्पी स्किन रोमथामका लागि के-के काम गर्नुभएको छ उहाँले यहाँ आएर बताउनुपर्यो, खोपहरु समयमा किन पुग्दैन ? औषधि किन पुग्दैन?,' कार्कीको प्रश्न थियो, 'यस विषयमा सदनलाई जानकारी गराउन अत्यन्त जरुरी छ, यस विषयमा जवाफ दिन सभामुखबाट कृषि मन्त्रीलाई रुलिङ होस् ।'
यस्तै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पशु चौपायामा महामारीको रुपमा फैलिएको लम्पी स्किनको रोकथामका विषयमा सदनलाई जानकारी गराउन रुलिङ गरेका छन्।
सांसदहरुले त्यसबारे सरकारको ध्यानाकर्षण गराउँदै सरकारको जवाफ माग गरेपछि सभामुख घिमिरेले सरकारले त्यसबारे गरेको काम कारबाहीको बारेमा सदनलाई जानकारी दिन रुलिङ गरेका हुन्।