काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) पनि सरकारमा सहभागी हुने भएको छ । पार्टीको आधिकारिकता यादव समूहले पाएसँगै जसपा सरकारमा सहभागी हुन लागेको हो ।
जसपाले पार्टीको तर्फबाट सरकारमा जाने मन्त्री छान्ने जिम्मा तीन शीर्ष नेतालाई दिएको छ । आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई मन्त्री छान्ने जिम्मा दिएको हो ।
यस्तै आजको बैठकले केन्द्रीय कार्यसमितिमा फेरबदल गर्ने निर्णय गरेको छ । केन्द्रीय समिति सदस्यहरूको नामावली अद्यावधिक गर्न पाँच सदस्यीय कार्यदल बनाएको छ । कार्यदलमा मृगेन्द्रसिंह यादव, रेणु यादव, गंगा श्रेष्ठ, गजाधर यादव र रमेश यादव छन् ।
कार्यदललाई काम सक्न १७ साउनसम्मको समय दिइएको छ । बैठकले केही समयअघि पार्टीमा एकीकरण गरेको नेपाल लोकतान्त्रिक पार्टी (शिवलाल समूह) का अध्यक्ष शिवलाल थापालाई कार्यकारिणी समितिमा थप्ने निर्णय गरेको छ ।
यस्तै पार्टी आधिकारिकताका लागि हेड काउण्ट दिन तटस्थ बसेका रेशम चौधरी उपेन्द्र यादवकै पक्षमा रहेको जनाएका छन् ।