कतार। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए कतारको सन २०२३-२०२५ कार्यकालको लागि अध्यक्षमा रमेश भट्टले उम्मेदवारी घोषणा गरेका छन्।
विगत दुई दशकदेखि कतारलाई कर्मथलो बनाइ विभिन्न सामाजिक संघ संस्थाको नेतृत्व गर्दै अनवरत रुपमा सामाजिक कार्यमा सक्रिय रहेका एनआरएनए मध्यपूर्वका डीआरसी भट्टले कतारमा रहेका धेरै नेपाली संघ संस्थाहरूको समर्थनमा उम्मेदवारी घोषणा गरेका हुन्।
उनलाई जनप्रगतिशील मञ्च कतार, जनसम्पर्क समिति कतार, प्रवासी नेपाली मञ्च कतार, जनजाति महासंघ कतारलगायत संस्थाले संयुक्त उम्मेदवारको रुपमा सार्वजनिक गरेका हुन । कतारमा रहेका ठूला सबै संघ संस्थाको समर्थन पाएपछि एनआरएनए कतारको अध्यक्षमा भट्टको पल्ला भारी देखिएको छ ।
एनआरएनको खस्कदो गरिमालाई बचाई राख्दै संस्थालाई पारदर्शी, समावेशी, श्रमिक मैत्री एवं विश्वसनीय एनसीसी बनाउने अभियानमा कतारमा रहेका सबै नेपालीहरूको साथ सहयोगको लागी भट्टले अनुरोध गरेका छन्।
कतारको सामाजिक धेरै सङ्घसंस्थामा आवद्ध भएर नेतृत्व गर्दै प्राप्त गरेको ज्ञान र अनुभव लाई नेपाली समुदायको हितमा प्रयोग गर्ने ऊद्देश्य सहित गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको अध्यक्षमा भट्टले शनिवार उम्मेदवारी घोषणा गरेका हुन्।
उम्मेदवारी घोषणा गर्दै भट्टले सबै कतारवासी नेपालीहरूलाई साथ, सहयोग र सहकार्यका लागी अनुरोध समेत गरेका छन्। एनआरएनए कतारको अध्यक्षका उम्मेदवार भट्टले शनिवार आफ्नो प्रतिबद्दता पत्र सहित उम्मेदवारी घोषणा गरेका छन्।
के हुन् एजेण्डा?
- एनसीसी कतारले गर्ने हरेक क्रियाकलापमा कतारमा स्थापित सम्पूर्ण संघसंस्था सँग समन्वय गरि सामूहिक रुपमा सहकार्य गरेर सम्पन्न गर्न ।
- कतार स्थित नेपाली राजदूतावास सँग समन्वय गरि नेपाली श्रमिकहरुको हकहित लाई प्राथमिकतामा राखेर श्रमिक विभागलाई थप प्रभावकारी बनाउन ।
- नेपाल सरकारले प्रवासमा रहेका मजदुरको हितको लागि हालै शुरु गरेको श्रमिक कल्याणकारी कोषमा अधिकतम सहभागिता गराउनका लागि सचेतना अभियान सञ्चालन गर्न ।
- एनसीसी कतारका हरेक गतिविधिलाई मासिक रुपमा र आर्थिक प्रतिवेदन त्रैमासिक रुपमा सार्वजनिक गर्न । संस्थाका पदाधिकारीले आफ्नो कार्यसम्पादनको रिपोर्ट मासिक बैठकमा प्रस्तुत गरि त्यसको समीक्षा गर्न ।
- कतार सरकारको विभिन्न निकायहरुसंग संस्थागत सम्बन्धलाई थप मजबुत बनाउँदै नेपाली श्रमिकहरूको लागि विभिन्न सचेतनामूलक कार्यक्रमहरूलाई प्राथमिकता दिएर सञ्चालन गर्न।
- नेपालको पहिचान झल्कने नेपाली साहित्य, कला र संस्कृतिलाई कतारमा आयोजना हुने विभिन्न प्लाटपर्फ्महरुमा प्रस्तुत गर्ने र कतारमा रहेका श्रस्टा /कलाकारलाई प्राथमिकता दिन ।
- कतारमा रहेका नेपालीहरूबीच आपसी भाइचारा तथा एकताको भावना जगाउन निरन्तर प्रयासरत रहन ।
- हाम्रो समृद्ध सम्पदाको प्रवर्द्धन गर्न नियमित सामुदायिक कार्यक्रम, नेपाली साहित्य, कला, सांस्कृतिक कार्यक्रम साथै नेपालमा मनाइने सबै चाडपर्वहरू सामुदायिक स्तरमा आयोजना गरि परस्पर भातृत्वको विकास गर्न ।
- कतारमा रहेका नेपाली दाजु-भाई दिदीबहिनीहरूलाई हरेक सामाजिक कार्यमा सक्रिय सहभागि हुनका लागि प्रोत्साहन गर्न साथै सबै नेपालीजनको आवाजहरू गैर आवासीय नेपाली संघ द्वारा सुनिएको सुनिश्चित गर्न।
- कतारमा रहेका नेपाली कामदारहरूका लागि श्रम अधिकार, उचित पारिश्रमिक र जीवनयापनका समस्याहरूलाई सम्बोधन गर्न रोजगारदाताहरू एवं आवश्यकता अनुसार स्थानीय अधिकारीहरू सँग समन्वय गर्न।
- कतारमा रहेका नेपाली श्रमिकहरूका लागि कानुनी मामिलाहरू, रोजगारीका समस्याहरू, स्वास्थ्य सेवा र शिक्षामा सहायताका लागि एक प्रणाली स्थापना गरि निरन्तर सेवामुलक कार्यक्रम सञ्चालन गर्न ।
- सामाजिक सुरक्षा कोष तथा IPO सम्बन्धी कतारमा रहेका नेपाली बैकका प्रतिनिधिसँगको समन्वयमा सचेतनामूलक कार्यक्रम गरि आम श्रमिकहरु को सहभागिता / आबद्धता सुनिश्चितताको लागि प्रयासरत रहन ।
- NRNA NCC / NRNA ICC का अग्रज एवं पुर्व पदाधिकारी बीच संस्थागत हितको लागि समन्वय गरि, मूलतःः ICC को विधान अङ्गीकार गरि अघि बढ्न।