काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजदेखि सुरु भएको छ । ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा सुरु भएको बैठकमा महामन्त्री गगन थापाले २१ पृष्ठ लामो प्रस्ताव पेश गरेका छन्।
उनले भदौ १५ भित्र सबै विभागहरुको गठनलाई पूणर्ता दिने, २२ वटा विभागहरु थप गर्नेलगायतका प्रस्ताव गरेका छन्। एक वर्षपछि बोलाइएको केन्द्रीय समितिको बैठकका लागि १० वटा एजेन्डा तय गरिएको थियो ।
मंगलबारको बैठकमा अनुशासन समिति, निर्वाचन समिति लगायतको प्रतिवेदन प्रस्तुत भएका छन् । अर्को बैठक बुधबार बिहान ११ बजे बस्ने छ । पार्टीको बैठक पहिलोपटक आज प्रत्यक्ष प्रसारण समेत गरिएको थियो ।
मंगलबारको बैठकमा महामन्त्री थापाले पार्टीले ५ देखि ७ लाख नयाँ सदस्य थप्ने लक्ष्यका साथ ‘घरघर जाउँ, पार्टी सदस्य बनाउँ’ अभियान चलाउने प्रस्ताव गरेका छन्। २०८० साउन २० गतेदेखि २०८१ असार ३१ गतेसम्म सो अभियान चलाउने उनको प्रस्ताव छ ।
थापाका अनुसार उनीहरुको सदस्यता साउनभित्र उपलब्ध गराइने छ भने भदौ, असोज र कात्तिकमा जिल्ला कमिटीहरुले नवीकरण गर्नेछन् । नयाँ सदस्यका लागि कांग्रेसले अनलाइन प्रणाली सुरु गरेको छ । यसलाई अझ प्रभावकारी बनाउने महामन्त्री थापाले बताए।
बैठकमा आगामी ६ वटा बैठकको मिति प्रस्ताव भएको छ । महामन्त्री थापाले अबको एक वर्षमा बस्ने बैठकको मिति नै प्रस्ताव गरेका हुन्।
हरेक दुई/दुई महिनामा बैठक गर्ने भन्दै उनले असोज, मंसिर, माघ, चैत र जेठको पहिला साता बैठक राख्ने प्रस्ताव गरे।
यस्तै कार्यकाल सकिएका ६ वटा भ्रातृ संगठनको तदर्थ समिति भदौ १५ भित्र बनाउने प्रस्ताव पेश भएको छ ।
नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल मुस्लिम संघ, नेपाल ठाकुर संघ र नेपाल दलित संघको तदर्थ समिति भदौ १५ भित्र बनाउने प्रस्ताव राखिएको हो ।
महामन्त्री थापाले हाल कायम रहेको २८ वटा विभागहरुमा केही थप गर्न गृहकार्य भइरहेको बताएका छन्।