काठमाडौं। ललिता निवास प्रकरणमा तेस्रो दिन पनि बहस नसकिएपछि मुद्दा हेर्दा हेर्दैमा राखिएको छ । न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको इजलासमा रहेको मुद्दामा निवेदकका कानुन व्यवसायीले जवाफी बहस बाँकी रहेको छ ।
बुधबार सरकारी वकिलहरुले बन्दीको निवेदन, यसअघि १७ जनाले दायर गरेको रिटमा बहस गर्दै सरकारको भ्याकेटका बारेमा इजलासमा बहस गरेका थिए । बुधबार महान्यायाधिवक्ता दिनमणि पोखरेलले पनि सरकारको बचाउमा बहस गरेका छन्।
पोखरेलले बालुवाटारको सरकारी जग्गा उच्च पदस्थ व्यक्तिहरुको मिलेमतोमा कीर्ते गरी व्यक्तिको बनाउने फौजदारी अपराध गरेको र त्यसमा अनुसन्धानका लागि पक्राउ गरिएकाले सबै रिट र निवेदन खारेज हुनुपर्ने दाबी गरे।
पक्राउ परेका व्यक्तिहरुलाई अदालतको अनुमति लिएर नै थुनामा राखेका कारण निवेदकले जिकिर गरेजस्तो गैरकानुनी नभएको उनको जिकिर थियो ।
बिहीबार सरकारी पक्षको बाँकी बहस सकेर निवेदकहरुले जवाफ दिने समय इजलासले तोकेको छ । निवेदकका तर्फबाट केही कानुन व्यवसायीले जवाफ दिएपछि इजलासले फैसला सुनाउनेछ । इजलासले चिया समयअघि जवाफी बहस सुन्ने अनि फैसला सुनाउने तयारी गरेको छ ।