काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा तेश्रो दिन पनि नेताहरुले आ-आफ्नो धारणा राखेका छन् । १० वटा एजेन्डामाथि केन्द्रित रहेर धारणा राखेका नेताहरुले पार्टी नेतृत्वमाथि पनि प्रश्न उठाएका छन् ।पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाको टकराबको कारणले पार्टी तल्लो तहसम्म गुट मौलाएको नेताहरुले बताएका छन् ।
तर, इतर पक्षका नेतृत्व गरिरहेका डा. शेखर कोइराला पछिल्लो समय मौन बसेकाले उनीप्रति नेताहरु सकारात्मक देखिएका छन् ।
एक-अर्कोविरुद्ध आरोप-प्रत्यारोपमा लाग्दा पार्टी कमजोर भएको केन्द्रीय सदस्य उदयशमशेर राणाले बताए। अर्का केन्द्रीय सदस्य उमेश श्रेष्ठले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कुरामात्रै नभएर काम गर्न आग्रह गरे।
अर्का केन्द्रीय सदस्य सञ्जयकुमार गौतमले पार्टीमा टिकट बाँड्ने तथा मन्त्री बनाउने बिषयमा कुनै संसदीय बोड नभएको बताउदै सभापतिको हुकुम मान्नुपर्ने अवस्था आएको बताए। पार्टी व्यक्तिले मनमौजीले नभई विधि र विधानले निर्देशित भएर चल्नुपर्ने उनको भनाई थियो ।
माओवादीसहित गठबन्धनबाट चुनाव लडेको कारणले आफूहरु पहिलो दल बन्न सकेकोमा केही नेताहरु सकारात्मक देखिएका छन् । तर, केही नेताहरु अहिले आफूहरु संघीय र प्रदेशको सरकारमा भए पनि माओवादीको छायाँ बनेको टिप्पणी गरेका छन् ।
बैठकमा बोल्दै टेकबहादुर गुरुङले चितवनमा सीडीओ कार्यालयदेखि क्यान्सर अस्पतालसम्म सबै माओवादी केन्द्रको कब्जामा रहेको बिफ्रिङ गरे। उनले मेयर, सीडीओ, एसपी, भूमि आयोगको अध्यक्ष क्यान्सर अस्पतालको अध्यक्ष, सरकारी अस्पतालको अध्यक्षलगायत सबै माओवादी भएको उनको भनाई छ ।
यस्तै, अर्का केन्द्रीय सदस्य कणर्बहादुर बुढाले कांग्रेस सरकारमा भए पनि आफूहरुले अनुभूति गर्न नपाएको गुनासो गरे।
यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री एवम् कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले महामन्त्री गगन थापाले दिएका अभिव्यक्तिले पार्टीप्रति नकारात्मक भ्रम फैलिएको भन्दै जथाभावी नबोल्न सचेत गराए।
पाण्डेले महामन्त्री थापाले संसदीय दलको नेता फेर्न प्रयास गरिरहेको भन्दै दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै बोल्नेभन्दा व्यवहारमा गरेर देखाउन चुनौती दिए। उनले सक्ने भए संसदीय दलको नेतामात्रै नभई सभापति नै फेर्न नभए नभए कुरामात्रै नगर्न चेतावनी दिएका छन्।
बालकृष्ण खाँणबारे आरोप-प्रत्यारोप
बैठकमा नकक्ली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणको विषयमा नेताहरुबीच आरोप-प्रत्यारोप चलेको छ । संस्थापन पक्षका अधिकांश नेताहरु खाणको बचाउमा उभिदा इतर पक्षका नेताहरुले निलम्बनको माग गरेका छन् ।
केन्द्रिय सदस्य अजयबाबु शिवाकोटीले बैठकबाट ठोस निणर्य लिन माग गरे। कांग्रेस अहिले प्रचण्ड नेतृत्वको सरकारमा सहभागि भएकाले शरणार्थी प्रकरणमा बालकृष्णलाई अन्याय भएको हो भने कांग्रेस तत्काल सरकारबाट हट्नुपर्ने नभए बालकृष्णलाई निलम्बन गर्नुपर्ने उनको माग छ ।
यस्तै अर्का नेता प्रकाश रसाइलीले भ्रष्टाचारको कुरा सुन्ने बित्तिकै पार्टीले मुख थुन्ने गरेको भन्दै नेतृत्वको आलोचना गरे। उनले अहिले महामन्त्रीद्वयलाई कुनै अधिकार नदिएर विचरा बनाइएको टिप्पणीसमेत गरे।
केन्द्रीय सदस्य मधु आचार्यले बहुचर्चित भ्रष्टाचारको छानबिन गर्न सरकारलाई दबाब कांग्रेसले दिनुपर्ने बताउदै भ्रष्टाचारको कुनै पनि घटनामा पार्टीका सदस्य दोषी देखिएमा स्वतः निलम्बन हुने व्यवस्था गरिनुपर्नेमा जोड दिए।
सदस्य चन्द्रबहादुर केसीले भने पूर्व गृहमन्त्री बालकृष्ण खाँणको प्रतिरक्षा गरेका छन्। केन्द्रीय समितिको बैठकमा केसीले मुद्दा किनारा नलाग्दै भैलो गाउँदै हिँडेको भन्दै पार्टीका नेताहरुको आलोचना गरे।
सर्वोच्चले दोषी ठहर गरेका रेशम चौधरीलाई आम माफी दिएको उल्लेख गर्दै उनले किनारा नलागेको मुद्दामा आफ्नै नेताहरु न्यायालय र न्यायाधीश भएको बताए।