शनिवार, कार्तिक १ गते २०८३

ललिता निवास जग्गा प्रकरणः २ नक्कली मोही पक्राउ

सोमवार , श्रावण ८, २०८०

काठमाडाैं। ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । नक्कली मोही बनेर सरकारी जग्गा हडपेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले आज सञ्जयकुमार महर्जन र सकुलानन्द महर्जनलाई पक्राउ गरेको एसएसपी दिनेश आचार्यले जानकारी दिए।

महर्जनद्वयलाई नक्कली मोही बनाएर रामकुमार सुवेदी, मीनबहादुर गुरुङ र शोभाकान्त ढकाललगायतले सरकारी जग्गा हडपेको एसएसपी आचार्यको भनाई छ ।

यसै प्रकरणमा हिजो नापी कार्यालयका पूर्वकर्मचारी अरुणकुमार श्रेष्ठ पक्राउ परेका थिए । यो प्रकरणमा जोडिएका पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ लगायत हालसम्म २२ जना पक्राउ परिसकेका छन् । यी मध्ये सचिव कृष्णबहादुर राउत मात्रै हिरासत बाहिर छन्।

२१ जनालाई थुनामा राखेर सीआईबीले अनुसन्धान गरिरहेको छ । सीआईबीले उनीहरुविरुद्ध कीर्ते र संगठित अपराधको कसुरमा हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

सीआईबीले असार १२ गतेदेखि पक्राउ गर्न र अनुसन्धान गर्न थालेको हो । यो कसुरमा ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न म्याद पाउने व्यवस्था छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार