काठमाडौं। कोसी प्रदेश सरकारविरुद्धको रिट सर्वोच्च अदालतको पूणर् इजलासले हेर्ने भएको छ । न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासले कोसी सरकारविरुद्ध एमालेका हिक्मतकुमार कार्कीले दायर गरेको रिट पूणर् इजलासमा पठाउने निणर्य गरेको हो ।
संवैधानिक इजलासमा पठाउँदा लामो समय लाग्ने र साउन २० गतेअघि मुख्यमन्त्रीमा नियुक्त भएका उद्धव थापाले विश्वासको मत लिइसक्नुपर्ने अवस्थाका कारण छिटो सुनुवाइ सक्ने गरी पूणर् इजलासबाट सुनुवाइ गर्ने निष्कर्ष निकालिएको हो ।
अब उक्त रिट भोलि तीन न्यायाधीशको इजलासले सुनुवाइ गर्ने छ । यद्यपि सो इजलासमा को को हुनेछन् भन्नेबारे यकिन गरिएको छैन ।
गत असार २२ गते एमाले कोसी प्रदेश सभा संसदीय दलका नेता कार्कीले सभामुखको हस्ताक्षर लिएर बहुमत देखाउँदै गठन भएको कांग्रेस संसदीय दलका नेता उद्धव थापा नेतृत्वको सरकारविरुद्ध रिट दायर गरेका थिए। उनले थापा नेतृत्वमा बनेको सरकार अवैध ठहर गरी त्यसअघिको सरकारलाई काम गर्ने आदेश माग गरेका छन्।