बुधवार, आश्विन २१ गते २०८३

निर्वाचन खर्चको सार्वजनिक नगर्ने उम्मेदवारलाई जरिवाना, सोवता गौतमदेखि गगनसम्म

मंगलवार , श्रावण ९, २०८०

काठमाडौं। निर्वाचन आयोगले गत वर्षको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारहरूलाई जरिवाना गर्ने निणर्य गरेको छ। आयोगले मंगलबार एक सूचना जारी गर्दै तोकिएको समयभित्र निर्वाचन खर्च विवरण नबुझाउने २ हजार ४ सय ३५ जना उम्मेदवारहरूलाई जरिवाना गर्ने निणर्य गरेको हो ।

आयोगले प्रतिनिधि सभातर्फका १ हजार ३७ जना र प्रदेश सभातर्फका १ हजार ३ सय ९८ गरी कुल २ हजार ४ सय ३५ जना उम्मेदवारहरूलाई जनही १५ हजार रुपैयाँका दरले जरिवाना गरेको हो । जरिवाना लागेका उम्मेदवारले ३५ दिनभित्र राजस्व दाखिला गरी सोको भौचर सहितको निवेदन निर्वाचन आयोग वा सम्बन्धित निर्वाचन कार्यालयमा पेश गर्न आदेश पनि दिइएको छ ।

खर्च विवरण नबुझाउनेहरूको सूचीमा नेपाली कांग्रेसका गगन थापा, राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम, माओवादी केन्द्रकी ओनसरी घर्तीसहितका सांसदहरूको नाम पनि उल्लेख छ ।

आयोगले जरिवाना बापतको रकम तोकिएको समयभित्र नबुझाउने उम्मेदवारहरूलाई तत्काल हुने एक निर्वाचनमा भाग लिन नपाउने गरी रोक लगाउने र जरिवाना बापतको रकम सरकारी बाँकी सरह असुल उपर गर्न केन्द्रीय तहसिल कार्यालयमा लेखी पठाउने निणर्य पनि गरेको छ । 

यस्तै, आयोगले खर्च विवरण बुझाउनेहरूको नामावली पनि सार्वजनिक गरेको छ । हालसम्म प्रतिनिधिसभाका २ हजार ३ सय ७३ जना र प्रदेशसभाका ५ हजार ५ सय ६१ जना उम्मेदवारले मात्रै खर्च विवरण बुझाएको आयोगले जनाएको छ ।

यस्तै आयोगले ७४ जना उम्मेदवारहरूसँग स्पष्टीकरण सोधेको छ । जसअन्तर्गत प्रतिनिधिसभा निर्वाचनका ३७ उम्मेदवार र प्रदेशसभा अन्तर्गत ३७ उम्मेदवारलाई स्पष्टीकरण सोधेको हो ।

हेर्नुस् आयोगले जरिवाना तोकेका प्रदेशतर्फका उम्मेदवार

हेर्नुस् आयोगले जरिवाना तोकेका  प्रतिनिधिसभातर्फका उम्मेदवार

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार