काठमाडौं। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) दक्षिण कोरियाको आगामी कार्यकाल २०२३ देखि २०२५ को कार्यकालका लागि जुलाई २९ मा अधिवेशन र जुलाई ३० मा अधिवेशन हुँदैछ । मतदानको मिति नजिकिँदै जाँदा सबै समूह निर्वाचनको तीब्र प्रचार प्रसारमा जुटेका छन्। नयाँ नेतृत्व छान्न यही जुलाई ३० मा मतदान कार्यक्रम हुने निर्वाचन प्रमुख गङ्गा राईले बताए। राईले बुधवार तिनै उम्मेदवारसँग छलफल गरेका छन्।
उनले स्वच्छ तवरले निर्वाचन सम्पन्न गराउन आफू र निर्वाचन समिति लागि परेको बताए । एनआरएनए राष्ट्रिय समन्वय परिषद कोरियामा अहिले चुनावी चर्चा र नेतृत्वका लागि दाबेदार बनेका उम्मेदवारहरूको लेखाजोखा भइरहेको छ। यसमा पनि अहिले सबैको चासो भने आगामी कार्यकालका लागि अध्यक्ष पदमा को बिजयी होला भन्ने रहेको छ ।
मतदानको मिति नजिकिँदै जाँदा अहिले अध्यक्षका उम्मेदवारहरुको चर्चा र को बिजयी होला भन्ने अनुमान पनि तीब्र भइरहेको छ । आसन्न निर्वाचनमा अध्यक्ष पदको लागि तीन जनाले उम्मेदवारी दर्ता गरेर प्रतिस्पर्धामा होमिएका छन्। अहिले अध्यक्षमा विपिन कुमार गुरुङ, बुद्धि गुरुङ र संजिव कुमार राई प्रत्यासी रहेका छन्। अध्यक्षमा सबै उम्मेदवारले आफ्नो दाबेदारी प्रस्तुत गर्दै अन्तिम चुनावी अभियान सञ्चालन गरिरहेका छन उनीहरुलाई त्यहाँ रहेका बिभिन्न नेपाली संघ संस्थाहरूले आ-आफ्नो उम्मेदवारको रुपमा समेत सार्वजनिक गर्दै चुनावी माहौलमा होमिएका छन्।
हाल उम्मेदवारी दिएका ३ उम्मेदवारमध्ये एनआरएनए एनसीसी कोरियाका पूर्व वरिष्ठ उपाध्यक्ष समेत रहेका विपिन कुमार गुरुङकाे पल्ला भारी देखिन्छ। गुरुङका एजेण्डा, चुनावी अभियान, प्रचारप्रसार र युवा तथा महिलाको अधिक सहभागिता , समावेशीका कारण पनि गुरुङ अहिले कोरियाका गैरआवासीय नेपालीहरुमा लोकप्रिय बनेका छन्। गुरुङले उठाएका एजेन्डाहरूलाई पनि धेरै नेपाली सङ्घसंस्थाले आफ्नो एजेण्डा बनाई उनलाई विजयको शुभकामना दिइरहेका छन्।
विपिनले आफ्नो उम्मेदवारीलाई स्थिर रूपमा प्रस्तुत गर्दै पदीय जिम्मेवारीको समय, कोरियामा नेपालीहरूको विषय र संस्थाको प्रमुख मुद्दालाई हेर्ने दृष्टिकोण सबैमाझ राखेका कारण गुरुङको पल्ला भारी भएको एनआरएनए अभियानका अग्रजहरू बताउँछन् । गुरुङले आफ्ना कुरा बोली भन्दा पनि व्यवहारलाई बढी महत्त्व दिने भएका कारण उनलाई धेरैले रुचाएको बताइन्छ। गुरुङले एनआरएनए कोरियामा बिभिन्न जिम्मेवारी निर्वाह गर्दै निरन्तर एनआरएनए अभियानमा लागेका उनलाई अध्यक्षमा रहेर नेतृत्व गर्दै एनआरएनए कोरियालाई उचाईमा पुर्याउन सक्ने व्यक्तिका रुपमा धेरैले बुझेका छन ।
उनले कोरियामा नेपाल र कोरियाबीच संस्कृति आदान प्रदान एवं सामाजिक र आर्थिक क्षेत्रमा योगदान पुर्याए वापत कोरियाको सिओल महानगरपालिकाले २०२० मा गुरुङलाई ‘मानार्थ कोरियन नागरिकता’ प्रदान गरेको थियो । कोरियामा बसोबास गर्ने बिदेशी नागरिकलाई हरेक बर्ष प्रदान गरिने उक्त सम्मानले नेपाल र कोरियाबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दे आएको छ ।
एनआरएनए एनसीसी कोरियाका पूर्व वरिष्ठ उपाध्यक्ष समेत रहेका बिपिन कुमार गुरुङले आफ्नो चुनावी घोषणापत्रमा सामाजिक सुरक्षा कोषमा कोरियामा रहेका नेपालीहरुलाई सहभागिता गराउने , अध्ययनको सिलसिलामा कोरिया आएका नेपाली विद्यार्थीलाई बस्न, पढाइमा सहजताको लागि 'स्टुडेन्ट रिलिफ फण्ड' को योजना, नेपाल र कोरियाबीच संस्कृति आदान प्रदान , संस्थालाई गतिशील, सशक्त, संस्थागत र समावेशिताका मुद्दाहरू अगाडि सारेका छन् । उनले यी मुद्दाहरुमा केन्द्रित रहि बिभिन्न कोरियाका शहरहरूमा भौतिक रुपमै उपस्थित भई व्यापक अन्तरक्रिया गर्दै सबैसँग सुझावसमेत संकलन गरेका छन् ।
कोरियाका धेरैजसो नेपाली समुदायसँग भेटवार्ता गरी नेपाल सरकारसँग समन्वय गरी कोरियामा बसोबास गर्ने गैर आवासीय नेपालीका समस्यालाई सम्बोधन गर्न आफु लागिपर्ने अठोटका साथ अगाडि बढेको गुरुङ बताउँछन् । एनआरएनहरुसँगको लामो संगत र एनआरएनए कोरियामा लामो समयदेखिको सहभागिता उपाध्यक्ष हुँदै सुरु गरेको आफ्नो यात्रामा सिकेका र नेपाली समुदायको आवश्यकता र विद्यार्थीलगायत समुदायले भोग्नुपरेका समस्या बुझेर नै आफु अध्यक्ष पदका लागि प्रत्यासी भएको गुरुङ बताउँछन् । आउँदो कार्यकालको लागि सबैले दिएको हौसलालाई शिरोधार्य गरी आफु नेतृत्व गर्ने यात्रामा अघि बढेको गुरुङ बताउँछन् ।
‘संंघको उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै एनआरएनए कोरियाको पदीय भूमिकासहित अघि बढ्ने क्रममा मैले व्यक्तिगत वा संस्थागत रुपमा आधार तहमा गरेको कार्य र पहललाई देखेर जुन माया, साथ सहयोग र सद्भाव तपाईहरुवाट प्रदान भयो त्यसले मलाई अघि बढ्न प्रेरित गर्यो,’ गुरुङ भन्छन ।
एनआरएनए कोरियाको सदस्य देखि वरिष्ठ उपाध्यक्ष समेत हुँदै गर्दा आधारभूत तहमा देखिने संस्थागत रुपका समस्यादेखि गैरआवासीय नेपालीका अन्य समस्यासँग जानकार रहँदै त्यसलाई समाधान गर्नका लागि राष्ट्रिय समन्वय परिषदमार्फत पहलकदमी गर्ने हेतुलाई बुझेर अध्यक्षको उम्मेदवारी दिएको बताउँछन्। कोरियामा रहेका नेपालीले चाहेजस्तै एनआरएनए कोरिया बनाउनका लागि नेतृत्व गर्ने आँट बोकेर आफू यो अभियानमा होमिएको गुरुङले बताए । एनआरएनए कोरियाका अभियन्ताहरूका अनुसार नयाँ कार्यसमितिमा विपिन कुमार गुरुङसँगै प्यानल पूरै निर्वाचित हुने लगभग निश्चित देखिएको छ ।