काठमाडौं। यूरोपेली सङ्घ (ईयू)ले नाइजर विद्रोहलाई मान्यता नदिने बताएको छ । ईयूले यसै साता सत्ता कब्जा गर्ने पश्चिम अफ्रिकी मुलुक नाइजरका विद्रोहीलाई मान्यता नदिने र सुरक्षा सहयोग स्थगन गर्ने घोषणा गरेको हो ।
नाइजरमा ‘कु’ गरी सत्ता कब्जा गरेको सेनाका जनरल अब्दुर्रहमान चियानीले आफूलाई देशको नयाँ नेता घोषित गरेका छन्। जिहादीबाट अतिप्रभावित अफ्रिकी राष्ट्रको नेता घोषणा गर्नुभएका उहाँले आफ्नो कदमविरुद्ध हुने कुनै पनि विदेशी सैन्य हस्तक्षेपले अराजकता निम्त्याउने चेतावनी समेत दिए।
सन् २०११ देखि राष्ट्रपतिका प्रमुख सुरक्षाकर्मी रहनुभएका जनरल चियानीले आफूलाई मुलुकको सुरक्षाका लागि राष्ट्रिय परिषद्को अध्यक्षसमेत बनेको घोषणा गरेका छन्।
जिहादीको आक्रमण र रक्तपातले देशको सुरक्षा स्थितिमा ह्रास आएकाले आफूले सैन्य विकल्प राजेको बताउँदै उनले आतङ्कवादविरुद्धको लडाइँमा छिमेकी बुर्किना फासो र मालीसँगको कुनै किसिमको सहयोग एवम् साझेदारी नगर्ने पनि स्पष्ट पारेका छन्।
उनले प्रजातान्त्रिक रूपमा निर्वाचित राष्ट्रपतिबाट सत्ता हत्याएकामा अन्तरराष्ट्रिय निन्दाको परबाह नगरी विदेशी सैन्य हस्तक्षेपबाट आउने गम्भीर परिणामको चेतावनी पनि दिएका छन्।
राष्ट्रसङ्घीय सुरक्षा परिषद्द्वारा निन्दा
संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले भने सैनिक विद्रोहको निन्दा गर्दै राष्ट्रपति मोहम्मद बाजुमलाई निःशर्त रिहा गर्न आह्वान गरेको छ ।
परिषद्का सदस्य राष्ट्रको आजको बैठकले राष्ट्रपति बाजुमका परिवारका सदस्य र उनको सरकारका सदस्यको सुरक्षा गर्नुपर्नेमा जोड दिँदै असंवैधानिक ढङ्गले भएको सरकार परिवर्तनको नकारात्मक प्रभावले आतङ्ककारी गतिविधिमा वृद्धिका साथै बिग्रको सामाजिक आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गरेको छ ।
राष्ट्रपति बाजुमलाई बुधवार बिहानैदेखि सेनाले पक्राउ गरेको छ भने देशको संविधान विघटनका साथै सबै संस्था निलम्बन गरिएको घोषणा पनि गरेको छ ।