काठमाडौं। संवैधानिक परिषद्को बैठक मंगलबार बस्ने भएको छ । प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि छलफल गर्नका लागि मंगलबार अपरान्ह ४ बजेका लागि बैठक डाकिएको हो।
यसअघि आजै प्रमुख तीन दलका शीर्ष नेताबीच संसदमा देखिएको अवरोध अन्त्य गर्ने र प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक बोलाउने विषयमा सहमति भएको थियो।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा संवैधानिक परिषद्को बैठक राखेर प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिश गर्ने र सदनमा देखा परेको अवरोध अन्त्य गर्ने विषयमा सकारात्मक छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।
छलफलका क्रममा प्रधानमन्त्री प्रचण्ड’ले संवैधानिक परिषद्का अन्य सदस्यसँग छलफल गरेर छिट्टै परिषद् बैठक बोलाउने बताएका थिए।
छलफलमा प्रधानमन्त्री प्रचण्ड,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सहभागी भएका थिए।