काठमाडौं। कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त भएका छन्।
साँझ ५ बजेभित्र नेपाली काँग्रेस संसदीय दलका नेता थापालाई काँग्रेस, सहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले सहितका ४७ जना सांसदले हस्ताक्षर गरेर प्रदेश प्रमुखकहाँ दाबी पेस गरेका थिए। दाबी पेस गरे लगत्तै प्रदेश प्रमुख परशुराम खापुङले थापालाई नेपालको संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
प्रदेशसभाका सभामुख बाबुराम गाैतमलाई राजीनामा गराएर नयाँ सरकार गठन भएको हो। ९३ सदस्यीय कोशी प्रदेशसभामा सरकार गठनका लागि ४७ सांसदको समर्थन आवश्यक हुन्छ । गठबन्धनमा कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ गरी ४७ सांसद पुगेका थिए ।
यसअघि कोशी प्रदेश सरकार गठन कोलागि बहुमत पुगेको दाबी पेस गर्दै सभामुख बाबुराम गौतमले समेत हस्ताक्षर गरेर ४७ जनाको पुर्याएर असार २१ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका थापा नेतृत्वको सरकारलाई सर्वोच्च अदालतको साउन ११ गतेको फैसलाले बर्खास्त गरेको थियो ।
अदालतको आदेशले संवैधानिक प्रक्रिया मिचिएको अवस्था देखि नै त्यसलाई सुधार गर्ने गरी साउन १७ गते भित्र संविधानको धारा १६८(२)बमोजिम सरकार गठन गर्न प्रदेश प्रमुखलाई निर्देशनात्मक आदेश दिएको थियो । त्यसैको आधारमा प्रदेश प्रमुखले साउन १६ गते ५ बजेसम्मको समय दिएका थिए।
सरकार गठन भएको ३० दिनभित्र मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ ।