काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा नेतृत्व परिवर्तनको बहस छेडिएको छ । बैठकमा पार्टीलाई विधि र विधानअनुसार नचलाएको भन्दै नेताहरुले पार्टी नेतृत्वप्रति असन्तुष्टि पोखेका हुन् । उनीहरुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मात्रै नभएर सिंगो पार्टी पदाधिकारीकै कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् ।
केन्द्रीय समिति बैठकमा पार्टी संगठनलाई प्रभावकारी ढंगले चलायमान बनाउन ‘जनतासँग पार्टी’ अभियान चलाउनेदेखि विधान सम्मेलन, विशेष महाधिवेशन लगायतको विषयमा छलफल केन्द्रित रहेको छ ।
२०७८ पुसमा भएको आठौं महाधिवेशनमा प्रचण्डको प्रस्तावमै सबै पदाधिकारी चयन गरिएको थियो । महाधिवेशनको डेढ वर्षमै माओवादीले फेरि विशेष महाधिवेशन गर्ने प्रस्ताव बैठकमा गरेको छ ।
केन्द्रीय बैठकमा मंसिरमा विधान सम्मेलन गरेर फागुनसम्ममा विशेष महाधिवेशन गर्नेबारे छलफल केन्द्रीत भएको हो । पार्टीको आवश्यकता विशेष महाधिवेशन भएको स्थायी समिति सदस्य जयपुरी घर्तीले बताईन्।
तर, विधान सम्मेलनमा सांसददेखि पार्टी अध्यक्षसम्म कति पटक बन्ने भन्ने ठोस निणर्य गर्नुपर्ने केन्द्रीय सदस्य लेखनाथ दाहालले बताए। दाहालले सुन तस्करी प्रकरणमा मुछिएका नेताहरूले आफू दोषी छैन भनेर पन्छिन नमिल्ने बताए।
शुक्रवारको बैठकमा आफ्नो धारणा राख्ने क्रममा दाहालले सुन तस्करी प्रकरणमा नेता कृष्णबहादुर महराले जोडिएको प्रसङ्ग निकाल्दै आफू दोषी छैन भनेर पन्छिन नमिल्ने उनकाे भनाई छ।
‘कृष्णबहादुर महरा मुछिनुभएको छ । तर उहाँले दोषी छैन भनेर पन्छिन मिल्दैन । बरु छानबिनका लागि आफैले सीआईबीमा निवेदन दिनुपर्छ’, दाहालको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘भ्रष्टाचार र तस्करीको कलङ्कको भार पार्टीले बोक्न सक्दैन ।’
बैठकमा बोल्ने अर्का केन्द्रीय सदस्य लक्ष्मीप्रसाद चौलागाईले नेतृत्तको ठिक्क मात्र आलोचना गर्नुपर्ने बताए । उनले भने, ‘सरकारले गरेका राम्रा कामको पार्टी नेता कार्यकर्ताले प्रचार गर्नुपर्छ, कमरेडहरू नेतृत्वको आलोचना पनि ठिक्क मात्र गर्नुपर्छ ।’ उनले जनप्रतिनिधि र जनताबीचको सम्बन्ध प्रगाढ बन्नुपर्नेमा जोड दिँदै त्यसो गरेको खण्डमा मात्र पार्टीको उपस्थिति बलियो बन्नसक्ने सुझाव दिए ।
उनले सबै कमिटीहरुलाई निर्वाचनको प्रक्रियाबाट लिएर जानुपर्नेमा जोड दिए। अध्यक्ष प्रचण्ड भने समाजवादी मोर्चा हुँदै नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा, डा. बाबुराम भट्टराई नेतृत्वको नेसपासँग पार्टी एकता गर्ने तयारी गरेका छन्।
अध्यक्षको उत्तराधिकारीमा महासचिवलाई हेर्ने प्रचलन छ । गत महाधिवेशनमा महासचिवको लागि वर्षमान पुन र जनार्दन शर्माबीच चर्को टकराब भएपछि प्रचण्डले देव गुरुङलाई अघि सारेका थिए। तर, गुरुङले पार्टीको नेतृत्व गर्न नसक्ने माओवादी नेताहरुको जिकिर छ ।
बैठकमा ६८ वर्षे उमेर हदको पनि प्रस्ताव आएको छ । केन्द्रीय सदस्य सचिन रोकाले ज्येष्ठ नागरिक भत्ता पाउने उमेरलाई मापदण्ड बनाएर पार्टीमा उमेरहद लगाउन माग गरे।
बैठकमा धारणा राख्दै सुवोधराज श्रीपालीले लट्ठी टेकेर हिँड्नेलाई महत्त्वपूर्ण जिम्मेवारी दिँदा माओवादी यथास्थितिबाट माथि उठ्न नसक्ने धारणा राखे । उनले अध्यक्ष प्रचण्डको नाम लिँदै कतिपयले पार्टीमा गुट चलाउने प्रवृत्ति हावी रहेको सङ्केत गर्दै यस्तो प्रवृत्ति पार्टीका लागि घातक हुने बताए । उनले भने,‘लट्ठी टेकेर हिँड्नेलाई इन्चार्ज दिनुहुँदैन । नेतृत्वको नाम लिएर गुट चलाउने काम अबदेखि बन्द होस् ।’
बैठकमा केन्द्रीय सदस्य रामकुमार शर्माले नेताहरू मातृका यादव र गिरिराजमणि पोखरेल आपसमा भिड्दा मधेसमा माओवादी पार्टी ध्वस्त भएको टिप्पणी गरे ।
शर्माले मधेसमा पार्टी बिग्रनुको मुख्य जिम्मेवार यादव र पोखरेल नै रहेको ठोकुवा गरे । यादव र पोखरेल दुवै पदाधिकारी (उपमहासचिव) हुन् ।
‘मधेसमा दुई हस्ती छन् । गिरिराजमणि पोखरेल र मातृका यादव । उहाँहरू कहिल्यै मिल्नुभएन । यी दुई नेता भिड्दा पार्टी मधेसमा उठ्नै सकेन’, शर्माको भनाइ छ । उनले मधेस बिगार्ने गिरिराज दश वर्ष मन्त्री बनेको तर पार्टी सङ्गठन सुदृढ गर्न कुनै भूमिका ननिभाएकोमा पोखरेलको कटाक्ष गरे ।
जम्बाे केन्द्रीय कमिटी
माओवादी केन्द्रमा पार्टीका केन्द्रिय सदस्यकै संख्या दुई अंकमा झारेर ९९ पुर्याउनुपर्ने माग भईरहेका बेला २२ केन्द्रीय सदस्य थप भएका छन् । केन्द्रीय समिति बैठकले पार्टीको विधानअनुसार ३५ प्रतिशत महिला पुर्याउन २२ जना सदस्य थप गरेको केन्द्रीय सदस्य डोरप्रसाद उपाध्यायले जानकारी दिए।
अब केन्द्रीय कमिटी ४०७ जनाको बनेको छ । पार्टी संगठन भद्दा भयो भनेर नेताहरुले आलोचना गरिरहेको बेला केन्द्रीय कमिटी जम्बो बनेको हो ।
मनोनीत भएका केन्द्रीय सदस्यहरूमा दिलमाया बुढामगर, नीरमाया श्रीष, आङदावा शेर्पा, इन्दिरा अधिकारी, उमा कपाली, उर्मिला विक, गंगा खड्का, गीताकुमारी कँडेल चौंलागाईं, गीता शाही, छमकुमारी खनाल, निशा न्यौपाने, पार्वती थापा छन् ।
त्यसैगरी भगवती तिवारी, मोतीकला चलाउने, लालकुमारी पुन, लीला शर्मा, सपना परियार, सीता दाहाल, सुशीला घिमिरे, सुशीला पौडेल, सूर्यकुमारी विक र सरु चौधरी पनि मनोनीत भएका छन् ।