शनिवार, कार्तिक १ गते २०८३

एनआरएनए युवा उपाध्यक्ष राज रेग्मीद्वारा आईसिसि उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा

शनिवार , श्रावण २०, २०८०

गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषदको एघारौं विश्व सम्मेलनमा कतारका सफल व्यावसायी एवं एनआरएनए युवा उपाध्यक्ष राज रेग्मीले उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्। एनआरएनए मलेसियाको अधिवेशनमा सहभागी भएपछि रेग्मीले पत्रकारहरुलाई उक्त जानकारी गराएका हुन्।

एनआरएनएको अभियानमा निरन्तर सक्रिय रहँदै आएका रेग्मीले आईसीसी मध्यपुर्व युवा संयोजक, बिभिन्न टास्कफोर्सको संयोजक पद र युवा उपाध्यक्षमा रहेर आफ्नो कार्य क्षमता प्रस्तुत गरिसकेका छन्। सरल र मिजासिलो स्वभावका रेग्मी एनआरएनएको संस्थागत विकासमा परिपक्वता भएका अभियन्ताका रूपमा चिनिन्छन्।

विश्वमा सबैभन्दा ठुलो नेपाली सञ्जालमा फैलिएको एनआरएनए लाई संस्थागत विकास र संस्थाको मर्म र भावना अनुरूप व्यक्तित्व विकास समेत आवश्यक रहेको भन्दै पछिल्लो पुस्तालाई नेपाल प्रति सामीप्यता र उत्तरदायित्व बहन गर्दै अगाडि बढाउन जोड दिने रेग्मीले बताए ।

उनले नेपालको समृद्धि र विकासमा सामूहिक लगानी र पर्यटन प्रर्वद्धनमा जोड दिदै नेपाल सरकारसँग समन्वय गर्दै विभिन्न देशहरूमा नेपालीले भोग्नुपरेको समस्या लाई समाधान गर्न तत्पर रहेको बताए । प्रत्येक मुलुक बाहिर रहेका नेपालीहरूले एनआरएनए मेरो सँस्था हो भन्ने बनाउन आवश्यक रहेको छ। 

सबैलाई समेट्न अझै हामीले पहल गर्न बाकी नै रहेको हुँदा यो अभियानलाई सार्थकता दिन सामूहिक नेतृत्वसहित टिममा सबैजना मिलेर कार्ययोजना नै बनाएर आउने भन्दै सबैको साथ र सहयोगका लागी रेग्मीले अपिल गरेका छन्। अहिले एनआरएनको आगामी ११ औं महाधिवेशन नजिकिँदै गर्दा निर्वाचनको माहौल तात्न थालेको छ । अहिले बिभिन्न देशबाट आईसीसीको आगामी अधिवेशनमा आउन चाहनेहरूले उम्मेदवारी दिने क्रम बढ्दो छ ।

मध्यपूर्व युवा संयोजक हुँदा र आईसीसी युवा उपाध्यक्ष रहँदा कुशलताका साथ आफ्नो जिम्मेवारी निभाएका रेग्मीले आगामी कार्यकाल २०२३–२५ का लागि उपाध्यक्षमा उम्मेदवारी दिएपछि उनको चर्चा सर्वत्र चुलिएको छ । एनआरएनएको अभियानमा आफूले प्राप्त गरेको अनुभव, अग्रजहरूको आग्रह र साथीभाइकाे अनुरोधमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णयमा पुगेको रेग्मीले बताए। आगामी कार्यकालका लागि सबैको आग्रह र एनआरएनएभित्र काम गर्न सक्ने पदमा पुगेर आफ्नो केही गर्ने इच्छा अनुसार आफुले एनआरएनए आईसीसी उपाध्यक्षमा उम्मेदवारी दिएको रेग्मीले बताए । उनले अव युवा उपाध्यक्ष पछि आफू जाने ठाऊ नै उपाध्यक्ष भएकोले उम्मेदवारी दिने बताए ।

उनले केही दिनमै एनआरएनए अभियन्ताहरूसँग छलफल गरेर आफ्ना थप प्रतिवद्धताहरू सार्वजनिक गर्ने बताएका छन्। उनका हालका प्रतिवद्धता यस्ता छन्:
१. नेपालको संविधानले परिकल्पना गरेको समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्न उत्पादनमूलक क्षेत्रमा सामूहिक लगानी ।
२. युवा स्वरोजगारको क्षमता अभिवृद्धि र उपलब्धिमूलक नव–प्रबर्दनका क्षेत्रमा प्रवासी नेपालीहरूको सामूहिक लगानी ।
३. विदेशमा सिकेको सीप र ज्ञानको उचित सदुपयोग गरी स्वदेशमै युवा रोजगार सिर्जना ।
४. विभिन्न पेसा र क्षेत्रका युवाहरूलाई प्रोत्साहन गर्दै उद्यमतर्फ आकर्षित गर्ने योजना ।
५ . सुरक्षित र मर्यादित रोजगारीको वातावरण , रोजगारीमा आउनेहरुको लागि श्रम सहजिकरण लगायत तालिम, अभिमुखिकरण र लगानीमा सहुलियत र अनुदान ।
६. मध्यपुर्व एसिया लगायत अन्य देशमा रोजगार र अध्ययनमा रहेका नेपालीहरुको लागि छुट्टै राहत कोष स्थापना ।
७. सबैको अपनत्व हुनेगरि सबै बर्ग र क्षेत्रका सबै नेपालीहरु समेटिने , विधान र पद्धतिमा चल्ने, निस्वार्थ र गैर नाफामूलक र गैर राजनीतिक संस्थाका रुपमा एनआरएनएलाई अगाडि बढाउने ।
यि लगायत रेग्मीले थप प्रतिवद्धताहरू सहित छिट्टै आफ्नो उम्मेदवारी सार्वजनिक गर्ने बताएका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार