काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण सत्ता स्वार्थमा मात्रै केन्द्रित भएको टिप्पणी गरेका छन्। अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालको भारत भ्रमणमा राष्ट्रिय स्वार्थ प्रधान नभई सत्ता स्वार्थ मात्रै प्रधान भएको दाबी गरे।
पार्टीको परराष्ट्र मामिला विभागले आज काठमाडौंमा आयोजना गरेको ‘वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र नेपालको परराष्ट्र नीति सम्बन्धी नेकपा (एमाले) को धारणा’ विषयक विचार गोष्ठीमा मात्रै उहाँले नेपाली आवश्यकता, नेपाली हित, नेपालको न्यायोचित पक्षमा हुनुपर्ने कुराहरूमा प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणमा धेरै कमजोरीहरूको देखाएको जिकिर गरे।
अध्यक्ष ओलीले इपीजी प्रतिवेदन र नेपालको भूमिबारे समेत प्रधानमन्त्री दाहालले भारतीय पक्षसँग कुनै कुरा गर्न नसकेको भन्दै आक्रोश समेत व्यक्त गरे।
यस्तै ओलीले राष्ट्रिय हितका सवालमा सरकारसँग सहकार्य गर्न तयार रहेको बताए। नेपाल र नेपालीको आवश्यकता, राष्ट्रिय हितका लागि सरकार, अन्य जुनसुकै दलले ल्याएका कुराहरूलाई आफ्नो पार्टीको समर्थन रहने उनको भनाई छ ।
सरकारले मनपरी गर्दै जाने र देशको अहित हुने निणर्य, सन्धि सम्झौता गर्ने विषयलाई भने आफूले समर्थन नगर्ने समेत स्पष्ट पारे।