बुधवार, आश्विन २१ गते २०८३
केन्द्रीय कमिटी बैठक

सुन प्रकरणबारे वर्षमान– ‘दोषी देखिए कारवाही भाेग्न तयार छु, अनुसन्धान नराेकियाेस्’

शनिवार , श्रावण २०, २०८०

काठमाडाैं। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सुन प्रकरणको छानबिन प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छन्। काठमाडौंमा जारी केन्द्रीय कमिटी बैठकमा बैठकमा धारणा राख्दै उनले दोषी प्रमाणित भए कानुनी कठघरामा उभिन तयार रहेको बताएका हुन्।  

करिब एक सय किलो सुन प्रकरणमा पक्राउ परेका दावा छिरिङसँग पुनको तस्बिरहरू सार्वजनिक भएका छन् । बैठकमा केन्द्रीय सदस्यहरूले सुन काण्डमा मुछिएका नेताहरूले मिडियामा विज्ञप्ति जारी गरेर नहुने भन्दै सीआईबीमा निवेदन दिनुपर्ने धारणा राखेका थिए ।

यसअघि गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा माओवादीकै नेता भएपनि नछोड्ने चेतावनी दिएका थिए। 

पुनले प्रचण्ड नेतृत्वको सरकारले थालेको भ्रष्टाचार विरोधी अभियानले जनतामा उत्साह पैदा गरेको बताउदै आफ्नै दलभित्र पनि कोही भ्रष्टाचारमा संलग्न भएको पुष्टि भए उन्मुक्ति दिन नहुनेमा जोड दिए।

जस्तोसुकै अप्ठ्यारो परिस्थिति आए पनि भ्रष्टाचार र बेथितिविरुद्ध थालिएको अभियान बीचैमा नरोकिने र रोक्न नहुनेमा उनको जोड छ ।

‘सरकारले थालेको भ्रष्टाचार विरोधी अभियानले जनतामा उत्साह पैदा गराएको छ । अध्यक्ष कमरेड तपाईँको अभियानमा हाम्रो दह्रो साथ छ’, पुनले भने, ‘कुनै पनि हालतमा यो अभियान रोकिँदैन र रोकिनु हुँदैन । छानबिन गर्दा पार्टीकै कोही नेता परे पनि सजाय भोग्न तयार हुनुपर्छ । यो अभियानले हामी कसैको बलिदान माग्छ भने पनि तयार हुनुपर्छ ।’

उनको प्रष्टीकरण सय केजी सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग आठ वर्षअघि खिचेको सामूहिक तस्बिरलाई लिएर आफूबारे उठेको प्रश्नप्रति लक्षित थियो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार