बुधवार, आश्विन २१ गते २०८३
मैले कहाँ सहयोग गरिनँ ?

प्रचण्डप्रति असन्तुष्ट जनार्दनः ‘वर्षमान र ममध्ये जसलाई महासचिव बनाए पनि मान्य हुन्छ भन्दा नयाँ प्रस्ताव किन ल्याइयो ?’

शनिवार , श्रावण २०, २०८०

काठमाडौं। नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफूलाई अध्यक्ष प्रचण्डले प्रयोग मात्र गरेको भन्दै देव गुरुङलाई महासचिव बनाइएकोमा असन्तुष्टि व्यक्त गरेका छन्।

शनिबार केन्द्रीय समिति बैठकमा आजआफ्नो धारणा राख्ने क्रममा शर्माले वर्षमान पुन र आफूमध्ये जसलाई महासचिव बनाएपनि मान्य हुने भन्दा भन्दै नयाँ प्रस्ताव ल्याएको आरोप लगाएका हु्न्।

समाजवादी हुनुभन्दा पहिले हामी लोकतान्त्रिक संस्कारलाई स्वीकार गरौँ । मान्छे हुनुको नाताले सबैको आ–आफ्नै स्वत्व हुनु स्वाभाविकै छ । अध्यक्ष कमरेडले बेला बेला त्यसमै धार लाइदिनुहुन्छ । तलबाट पनि म फलानाको हुँ र होइन भन्ने चलन छ । अनि त्यसैलाई गुट भनेर ठुलो प्रचार गरिन्छ । हामी तपाइकै हौँ, २ जनामध्ये महासचिव जसलाई बनाए पनि हामीलाई मान्य हुन्छ भनेर अनुरोध गर्दा पनि नयाँ प्रस्ताव अघि सारिन्छ । सोही प्रस्तावलाई सहज रूपमा स्वीकार गर्दा पनि अनेकन् प्रचारबाजी गरिन्छ । अनि गरौँ के ?

शर्माले आफूलाई चित्त नबुझ्दा नबुझ्दै पनि प्रचण्डको आग्रहमा राष्ट्रपति र सभामुख एकै पार्टीको हुन हुँदैन भनेर बाहिर बोलेको भन्दै जस्तोसुकै बेला पनि अध्यक्षलाई साथ दिएको समेत बताए।

‘अध्यक्षले चाहँदा, परिस्थितिले माग गर्दा, वैचारिक राजनैतिक निर्णय लिँदा, गठबन्धन बनाउँदा, जतिखेर पनि खटनपटनमा लागेकै छु । स्वतन्त्र व्यक्ति राष्ट्रपति बनाउनु हुँदैन, पार्टीबाट बनाउनुपर्छ, सभामुख र राष्ट्रपति एउटै पार्टीको बनाए थप समस्या आउँछ भनेर तैँले बाहिर बोल र वातावरण बना भनी अध्यक्षले आदेश दिँदा आफ्नो मत थाँती राखेर भए पनि त्यसको पालना गरेकै छु,’ शर्माले केन्द्रीय समिति बैठकमा भने, ‘परिस्थिति अदल बदल गर्नुपर्दा वा अन्य कुनै सङ्कट आइपर्दा सधैँ अध्यक्षको पक्षमा खडा भएकै छु । होला कहिलेकाहीँ आँखा जुधाएर कुरा गर्न मन लाग्छ, गरिन्छ पनि । तर त्यसैलाई असहयोग गर्‍यो भनेर नेतृत्वको आडमा नानाथरी बिल्ला भिराएर प्रचारबाजी गरिन्छ ।’ 

यसपटक सरकारले राम्राे काम गरेकाे भन्दै प्रसंसा गरेका शर्माले कतिपय नेताले ३२ सिटे भनेर खिसिट्यूरी गर्दा प्रचण्डको साथ र माओवादीको समर्थन विना बालुवाटार प्रवेश सम्भव नभएको भनेर प्रतिवाद गेराेकाे समेत स्मरण गराए। नेताहरुकाे सम्पत्ति छानविन गर्नुपर्नेमा समेत आफू दृढ रहेकाे उनकाे भनाइ छ। 

उनले थपे,'पार्टीभित्र पनि सम्पत्ति छानबिन गर्नुपर्छ भन्ने कुरामा मेरो दृढ सहमति छ । तर मन्त्रीको हैसियतले सामान्य तोक लगाएको, त्यो पनि राज्यको निकाय सम्पत्ति शुद्धीकरण विभागले छानबिन गरेर सम्पत्ति फुकुवा गरेको पत्र देखाए पछि यसबारे के भएको हो ? सत्य तथ्य बुझ्नू र आवश्यक सहजीकरण गर्नू भनी तोक लगाएको विषयलाई अपराध गरेको भनेर दुष्प्रचार गरिन्छ, चरित्र हत्या गर्न खोजिन्छ । म फेरी पनि भन्छु– छानबिन गरौँ कसको सम्पत्ति कति छ ? कसका घर कति छन् ? कसका के के व्यवसाय छन् ? कसका बैक ब्यालेन्स कति छ ? म तयार छु । कुनै गल्ती नगर्दा नगर्दै पनि प्रश्न उठेपछि छानबिनको लागि मार्ग प्रशस्त गर्ने मै हुँ । म ४ पटक गरेर ३९ महिना मन्त्री हुँदा गरेका काम कारबाहीहरु नीति, योजना र त्यसको परिणाम जनताको बिचमा छन् । के के उपलब्धि भए भन्ने कुरा लिखित रूपमा पनि उपलब्ध गराउनेछु ।'

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार