काठमाडौं। संसदको अवरोध खोल्ने बिषयमा शिर्ष राजनीतिक नेतृत्वमा सहमति हुन नसकेपछि प्रतिनिधिसभाको बैठक भोलि सम्मका लागि स्थगित भएको छ ।
सभामुख देवराज घिमिरेले बोलाएको शीर्ष नेताहरुको बैठकमा सहमति जुट्न नसकेपछि मंगलबार दिउँसो ३ बजेसम्मका लागि संसद् बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।
सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गर्दै आइरहेपछि बैठक पटक पटक नबसी स्थगित हुँदै आइरहेको छ । सदनको अवरोध खुलाउनेबारे प्रमुख दलका शीर्ष नेता र प्रमुख सचेतकसहित सभामुख छलफल गरिरहेका छन् ।
छलफलमा एमालेले एक क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको अडानलाई कायमै राखेको छ । प्रधानमन्त्री प्रचण्ड भने समिति बनाउन तयार देखिनुभएको छैन । यसै कारण संघीय संसद साउन १० गतेदेखि अवरोध गर्दै आएको छ ।
यसअघि आजै दिउँसो १ बजे बसेको राष्ट्रियसभाको बैठकमा समेत एमालेले अवरोध गरेपछि बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको थियो । बैठक सुरु हुने वित्तिकै एमाले सांसद दिलकुमारी रावलले सरकारले गरिरहेको छानबिन मुख्य दोषीसम्म नपुग्ने भन्दै उच्च स्तरीय छानबिन समिति नबनेसम्म एमालेले सदन चल्न नदिने अडान रहेको बताइन्।
यसअघिका प्रकरणमा भएको छानबिनको स्मरण गराउँदै सरकारले तत्काल उच्च स्तरीय छानबिन समिति गठन नभएसम्म अवरोध कायम रहने उनको भनाई छ ।