काठमाडौं । धनुषामा फेरी पासविक घटना घटेको छ । जनकपुरधाम उपमहानगरपालिका–१४ रजौलमा बोक्सी आरोपमा एक महिला स्वास्थ्य स्वयंसेविकालाई निर्घात कुटपिट तथा मानव मलमूत्र खुवाउने प्रयास गरिएको घटना सार्वजनिक भएको छ ।
साउन १ गते राति ९ बजे ३५ वर्षीया महिला स्वास्थ्य स्वयंसेविकालाई बोक्सीको आरोप लगाउँदै छिमेकी पाँचजना मिलेर निर्घात कुटपिट गरेको पीडित परिवारले जनाएको छ । छिमेकीको घरमा केटाकेटी र पशुचौपाया बिरामी हुँदा बोक्सी लगाएर बिरामी बनाएको आरोप लगाउँदै निर्घात कुटपिट गर्दै मलमूत्र खुवाउने प्रयास गरेको पीडितले बताइन् ।
पीडित महिलाका श्रीमानका अनुसार ४८ वर्षीय मंगल महरा, ४५ वर्षीय सुमिन्त्रादेवी महरा, २७ वर्षीय संजित महरा, २० वर्षीय रविन महरा र २६ वर्षीया देवकीदेवी महराले निर्घात रुपमा कुटपिट गर्दै मलमूत्र खुवाउने प्रयास गरेका थिए ।
पीडित महिलाको श्रीमानले घटना बारे प्रहरीलाई खबर गरेपछि मुजेलिया प्रहरी चौकीले उद्धार गरी उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गराएको थियो। राजनीतिक दबाबका कारण प्रहरीले घटनाको उजूरी लिन नमानेको आरोप उनले लगाए ।
प्रहरीले उजुरी दर्ता गर्न नमाने पछि बुधबार मानव अधिकारको क्षेत्रमा क्रियाशील संस्थाहरु इन्सेक, ओरेक नेपाल र महिला अधिकार रक्षक संजालको संयुक्त प्रयासमा जिल्ला सरकारी वकिलको कार्यालयमार्फत् उजूरी दर्ता गरिएको छ ।
पीडित परिवारलाई घट्ना दर्ता नगराई मिलापत्र गराउन राजनीतिक दबाब दिँदै आएको खुलेको छ । २० वर्षअघि पनि आरोपी कै घरपरिवारले पीडित महिलाकी सासुलाई समेत बोक्सीको आरोपमा कुटपिट गरी मलमूत्र खुवाएको पीडितले बताइन् ।