काठमाडौं । वाग्मती नदीमा जलसतहले खतराको तह पार गरेको छ । वाग्मती नदी खोकना, ललितपुर बाढीमापन केन्द्रमा जल सतहले खतरा तह पार गरेको हो ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार जलसतह बढ्दो क्रममा रहेको छ । त्यसैले वाग्मती नदी तटीय क्षेत्रमा रहनेले आज दिनभर उच्च सतर्कता अपनाउनु पर्ने महाशाखाले जनाएको छ ।
काठमाडौं उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास भारी वर्षा भएको छ । विष्णुमती, धोविखोला, मनोहरालगायत खोलामा पनि बाढी आएको छ ।
विष्णुमती खोलामा पानीको बहाव उच्च देखिएको छ ।गए रातिदेखिको वर्षाले खोलामा पानीको बहाव बढाएसँगै बाढीको जोखिम पनि बढेको छ ।
विष्णुमती किनारका सडकसम्म नै बाढी पुगेको छ । सडक किनारका घर र पसलभित्र समेत पानी पसेको छ ।