शनिवार, कार्तिक १ गते २०८३

एनआरएनए आईसीसी महासचिवमा बुद्दी सुवेदीको उम्मेदवारी 

बुधवार , श्रावण २४, २०८०

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको आगामी २०२३-२५ कार्यकालका लागि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाका निवर्तमान अध्यक्ष बुद्दी सागर सुवेदीले महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्। स्याङ्जामा जन्मेर चितवनमा बाल्यकाल बिताई अमेरिकालाई कार्यक्षेत्र बनाएका सुवेदी सफल व्यावसायी र समाजसेवीका रुपमा विश्वमा परिचित छन्। 

विगत दुई दशकदेखि अमेरिकालाई आफ्नो कर्मभूमि बनाउँदै आएका सुवेदी सन २००३ मा अमेरिका जानु अघि विभिन्न कलेजमा अध्यापन पेशामा आवद्द थिए ।विद्यार्थी जीवनदेखि नै सामाजिक कार्यमा अग्रसर सुवेदी अमेरिका पुगेपछि पनि एनआरएनए अभियानमा लागेर आफ्नो व्यवसायसँगै सक्रिय रुपमा सामाजिक सेवा गर्दै आएका छन्। 

हाल उनी अमेरीकाका सफल व्यावसायी बनिसकेका छन्। हाल उनले अमेरिका र नेपालमा धेरै क्षेत्रमा ठुलो लगानी गरिसकेका छन्। सुवेदीले अमेरिकामा हायात, होलिडे ईन, ह्यम्पटन, विज्डमलगायतका होटल र सुपरमार्केट सञ्चालन गरिरहेका छन् भने नेपालमा पनि विभिन्न क्षेत्रमा लगानी गरेका छन्। सुवेदीले भर्खरै भैरहवामा रहेको पाचँ तारे टाइगर प्यालेस रिसोर्ट खरिद गरेका छन्। 

सबैमाझ लोकप्रिय र नम्र स्वभावका सुवेदी संस्थागत विकास ,एनआरएनएमा सबैको अपनत्व बोधको लागि यस पटक आफू महासचिव पदमा उम्मेदवारी दिने अन्तिम तयारीमा रहेको बताउँछन्। उनले संस्थालाई आमूल परिवर्तन गर्नको लागी पद्धति र पारदर्शीतासहितको एनआरएनए बनाउने एजेण्डा स्थापित गर्न, वंशजको आधारमा नागरिकताको निरन्तरताका लागि राजनीतिक दल र सरकारसँग संवाद मार्फत कार्यान्वयन गर्न, महिला , युवा, दोश्रो पुस्ता र श्रमिकमैत्री बनाउँदै एनआरएनए अभियानमा सबै गैरआवासीय नेपालीलाई जोड्न , सबैलाई एनआरएनएमा सहभागिताको सुनिश्चितता गराउन, नेपाली कला संस्कृति, संस्कार र परम्परालाई नेपाली डायस्पोरामा पुर्याउन, गैर आवासीय नेपाली संघले सञ्चालन गरेको परियोजना र गतिविधिहरूको पारदर्शितारूपमा सुरुवात गर्दै सचिवालय सञ्चालन गर्न , अनावश्यक आर्थिक चलखेल र अनियमिततालाई पारदर्शीरुपमा सार्वजनिक गर्न, अनावश्यक कर्मचारी कटौती गर्न आफ्नो उम्मेदवारी रहेको बताए । 

गैर आवासीय नेपाली संघको पंजीकृत सदस्य र राष्ट्रिय समन्वय परिषदहरु स्वाधीनता र स्वतन्त्रतामा हस्तक्षेप नगरी समन्वयकारी भूमिका निर्वाह गरेर विधानको पूर्ण कार्यान्वयनका लागि पूर्ण प्रतिबद्ध हुँदै संघलाई एनआरएनको मन मस्तिष्कसँग जोड्ने संस्था बनाउने आफ्नो लक्ष्य रहेको सुवेदीले बताए । एनआरएनएमा सुवेदी विस्कन्सिन राज्यको च्याप्टर अध्यक्ष हुँदै एनआरएनए अमेरिकामा उपाध्यक्ष देखि अध्यक्ष सम्म यात्रा तय गरि एनआरएनए युएसएको सफल अध्यक्ष बनेका थिए । 

एनआरएनए युएसएमा आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेपछि विश्वमा रहेका गैरआवासीय नेपाली एनआरएनए अग्रज र एनआरएनए अभियन्ताहरुको सल्लाह सुझावका आधारमा आफूले महासचिवमा उम्मेदवारी दिएको सुवेदी बताउँछन्। सुवेदी एनसीसी अमेरीकाका सफल अध्यक्ष मध्येका एक हुन । विश्वकै ठूलो एनसीसी अमेरिकाका अध्यक्ष भइसकेका सुवेदीको आइसीसीको महासचिवको उम्मेदवारीलाई विश्वभर चर्चाका रुपमा हेरिएको छ । 

विश्वभरका नेपालीहरुले एनआरएन अभियानमा आफ्नाे भूमिकालाई नजिक बाट नियालेकाले आफ्नाे उम्मेदवारी निर्विकल्प रहेकाले निर्विरोध जिम्मेवारी पाउनेमा आशावादी भएकाे समेत बताएका छन्। 

यद्यपि प्रजातान्त्रिक प्रणालीमा प्रत्याशी आए पनि आफू प्रतिस्पर्धात्मक निर्वाचनका लागी पनि तयार रहेको बताए। सुवेदीसँगै महासचिवमा हालका महासचिव गौरीराज जोशी, सचिव गंगाधर गौतम,ए शिया प्याशिफीक संयोजक पारसमणि सुवेदीले आगामी कार्यकालका लागी महासचिवमा आउने इच्छा व्यक्त गरिसकेका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार