काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रहरी र कपनका स्थानीयबीच झडप भएको छ । महानगरपालिकाले स्थानीयसँग समन्वय नगरी कपन हुँदै बगेको खहरे खोला खन्न गएको भन्दै स्थानीयले विरोध गरेका हुन् ।
काठमाडौं-१० र बूढानीलकण्ठ-७ को सिमानामा रहेको क्षेत्रमा खोला अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना हटाउने भन्दै महानगर प्रहरी डोजर लिएर पुगेको थियो । नगरप्रहरी पुग्नासाथ स्थानीय भेला भएर आफूहरूसँग कुनै समन्वय नगरी महानगरपालिकाले खोतल्न लागेको भन्दै दुवै पक्षबीच झडप भएको हो ।
यस्तै महानगर प्रहरीले बूढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिमाथि हातपात र दुर्व्यवहार गरेको विषयले दुईपक्षीय वार्ता प्रभावित भएको छ । कपन प्रहरी चौकीमा बूढानीलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारीसहितको टोली र काठमाडौं महानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष विमल होडासहितको टोलीबीच सात तलेको विवाद समाधान गर्न वार्ता भइरहेको छ।
डोजरमा अवरोध गर्दा महानगर प्रहरीले बूढानीलकण्ठ नगरपालिका- १० का वडाध्यक्ष नवराज भट्टराई र वडा सदस्य रिता दाहालमाथि दुर्व्यवहार गरेका थिए । यहि विषयले वार्तामा समेत तनाव उत्पन्न भएको छ ।
महानगरले क्षेत्राधिकार बाहिर बूढानीलकण्ठमा प्रवेश गरेर जनप्रतिनिधिमाथि दुव्यर्वहार र स्थानीयलाई आतंकित बनाएको उपमेयर अनिता लामाले बताईन्।
यसैबीच महानगर प्रहरीका प्रमुख राजुनाथ पाण्डेले भने बूढानीलकण्ठका जनप्रतिनिधिको मागको बारेमा आफूहरूलाई सरोकार नभएको बताउदै खोला मासेर बनाएका संरचना हट्छन् भनेर उनीहरूले अवरोध गरेको आरोप लगाएका छन्।
पाण्डेले आजै साततलेको खोला डोजर लगाएर जसरी पनि खोल्ने भन्दै दुई पक्षले वार्ताको लागि समय मागेकाले केहीबेर छाडिएको बताए।