शनिवार, कार्तिक १ गते २०८३

सुन तस्करी प्रकरणः गालेपछि फेरी घट्यो तौल, ६० किलो ७१६ ग्राम कायम

मंगलवार , श्रावण ३०, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन राष्ट्र बैंकले गालेको छ । गालेपछिको सुनको कुल वास्तविक तौल ६० किलो ७१६ ग्राम कायम भएको छ । साउन ३ मा राजस्वले सुन बरामद गरेर गाल्न र तौल लिने प्रयोजनका लागि राष्ट्र बैंकको टक्सार महाशाखालाई जिम्मा लगाएको थियो ।

राष्ट्र बैङ्कले केन्द्रीय अनुसन्धान ब्युरोका अधिकृतहरूलाई रोहबरमा राखेर आज सुनको वास्तविक तौल सार्वजनिक गरेको हो । टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यका अनुसार सोमबार ब्रेक प्याडबाट अलग गर्दा सुनको तौल ६० किलो ७८९ ग्राम भएको थियो ।

त्यसपछि बाल्दा परिमाण केही ग्राम घटेर वास्तविक तौल ६० किलो ७१६ ग्राम कायम भएको हो । हिजोदेखि राष्ट्र बैंकले सुन ब्रेक प्याडबाट अलग गर्ने र गाल्ने प्रक्रिया सुरु गरेको थियो ।

असार ३० मा हङकङकबाट क्याथे प्यासिफिकको उडानमार्फत आएको सुन ‘रेडी ट्रेड प्रालि’ले मगाएको खुलेको थियो  । १६० वटा ‘ब्रेक प्याड’ मा छिपाएर सुन काठमाडौँ ल्याइएको थियो । सुन सहितको ब्रेक प्याडको तौल १५५ किलो थियो । सुन तस्करीमा संलग्न आशङ्कामा हाल १७ जना हिरासतमा छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो ‘सिआईबी’ले सङ्गठित तस्करी विरुद्धको कसुरमा आरोपितहरू विरुद्ध अनुसन्धान गरिरहेको छ । राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज अधिकारीले बरामद गर्दा सुन करिब ८० देखी १०० किलो रहेको दाबी गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार