काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकामा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर आफू त्यतैबाट चीन भ्रमणमा जाने बताएका छन्। मंगलबार प्रमुख सञ्चार माध्यमका सम्पादकहरुसँगको छलफलमा उनले सेप्टेम्बर १६ (भदौ ३०) मा अमेरिकाको न्यूयोर्क जाने र सेप्टेम्बर २१ ( असोज ४) मा त्यतैबाट चीन जाने जानकारी गराएका हुन्।
अमेरिकाको न्यूयोर्कमा १९ सेप्टेम्बरबाट संयुक्त राष्ट्रसंघको महासभा सुरु हुँदैछ र त्यहाँ सेप्टेम्बर २१ मा आफ्नो सम्बोधन तय भएको प्रचण्डले जानकारी दिए। त्यसपछि सेप्टेम्बर २१ मा चीन जाने उनको भनाई छ ।
चीनमा सेप्टेम्बर २३, २४ र २५ मा एसियाली खेलकुद कार्यक्रम तय भएको छ । २५ सेप्टेम्बरमा स्वदेश फर्किने तय भएको उनले बताए। चीन भ्रमणका क्रममा चीनका राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री लि क्वाङसँगको भेटवार्ता तय भएको पनि प्रचण्डले जानकारी दिए।
भ्रमणका क्रममा बीआरआई कार्यान्वयनको योजनाका विषयमा छलफल हुने भन्दै प्रचण्डले चीनले एउटा परियोजना अनुदानमा अगाडि बढाइदेओस् भन्ने आफ्नो चाहना रहेको बताए।
यस्तै रसुवाबाट क्रस बोर्डर ट्रान्समिसन लाइन राख्ने तथा एग्रोबेस उद्योग कसरी बढाउने भन्ने बिषयमा समेत राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट्ने तय भएको छ ।