काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी कार्यालय, थापाथलीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले महासचिव पोखरेलले दशबुँदे सहमति कार्यान्वयन गर्ने निर्णय भइसक्दा पनि तदारुकता नदेखिएको बताए ।
भने, ‘अड्किएको कहाँ हो मैले पनि बुझेको छैन ।’ पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यदलमा रहेर काम गरेका नेताहरुलाई शुक्रबारसम्म कोशिश गरौं भनेको भन्दै सम्भवत आज बेलुकासम्म केही कुरा होला तर त्यसपछि धेरै प्रतीक्षा गर्नु उचित नहुने भनाई राखे ।
साथै उनले पार्टीमा एकताका लागि खोजिने कुनै पनि विकल्प विधानसम्मत हुनुपर्नेमा जोड दिए । दोस्रो अध्यक्षको प्रस्ताव र समान हैसियत हुनुपर्ने नेपाल पक्षको अडानबारे सोधिएको प्रश्नमा महासचिव पोखरेलले पार्टीको विधान अनुसार हुनुपर्ने बताएका हुन् । दैनिक जसो अनेक प्रस्ताव आउने गरेको भन्दै उनले कुन प्रस्ताव के हो भन्ने ठेगान गर्नै कठिन रहेको बताए ।