आइतवार, श्रावण २४ गते २०८३

बीआरआईमा चीनको चासोः प्रधानमन्त्रीको भ्रमणमा के छन् नेपालका एजेण्डा?

शुक्रवार , भाद्र १५, २०८०

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सेप्टेम्बर २० अर्थात असोज ३ गते अमेरिका हुँदै चीन भ्रमणमा जाँदै छन्। प्रधानमन्त्री प्रचण्डले असोज ३ मा अमेरिकाको न्यूयोेर्कमा हुने राष्ट्रसंघीय महासभामा भाग लिने कार्यसूची छ ।

पाँच दिने अमेरिका भ्रमणपछि प्रचण्ड उतैबाट चीन भ्रमणमा जानेछन्। दक्षिणी छिमेकी मुलुक भारत भ्रमणपछि मात्रै उत्तरी छिमेकी मुलुक भ्रमणको प्राथमिकतामा राखेका प्रचण्डको आगामी चीन भ्रमणबारे चासो बढेको छ ।

यहीबीचमा प्रधानमन्त्री दाहालले चीन भ्रमणका बेला हुने सम्झौताहरू टुंगो लागेको बताएका छन्। शुक्रबार चिनियाँ राजदूतसँग छन् सोङ गहन छलफल गरी पोखरा पुगेका प्रधानमन्त्री दाहालले मन्त्रालयगतरूपमा सम्झौता हुने विषयहरू टुंगो लागेको बताएका हुन्।

समाजवादी मोर्चाको भेलालाई सम्बोधन गर्दै उनले भौतिक पूर्वाधारअन्तर्गत सुदूरपश्चिम र कर्णालीलाई जोड्ने हिल्सा-सुर्खेत सडकका विषयमा सम्झौता हुने बताए। सो परियोजनाले सुदूरपश्चिम र कर्णालीका जनतालाई प्रत्यक्ष फाइदा पुग्ने उनको भनाइ छ। प्रधानमन्त्री प्रचण्डले मुस्ताङबाट चीन जोड्ने कोरला नाका, गोरखाबाट चीन जोड्ने नाकाका विषयमा पनि छलफल हुने बताएका छन्। 

ऊर्जा क्षेत्रमा पनि चीनसँग सम्झौता हुने प्रधानमन्त्री प्रचण्डले बताएका प्रचण्डले चीनसँग विद्युत व्यापार सम्झौता हुने बताउदै रसुवामा ट्रान्समिशन लाइन जडान गरिने जानकारी दिए। 

यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनीको गौतमबुद्ध  अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको विभिन्न क्षेत्रबाट उडान गर्ने विषयमा पनि छलफल हुने प्रधानमन्त्री प्रचण्डको भनाइ छ। नेपालको कृषि क्षेत्रमा चीनको विशेष चासो रहेको बताउँदै त्यससम्बन्धी विविध विषयमा छलफल हुने बताए। बिषेशगरि घाँस निर्यात र राँगाको मासु निर्यात गर्ने विषयमा छलफल हुनेछ। 

त्यसअघि शुक्रबारै बिहान मात्रै राजदूतसोङसँग प्रचण्डको भेट भएको थियो । भेटमा बीआरआई परियोजना अघि बढाउने विषयमा समेत प्रधानमन्त्री र चिनियाँ राजदूत सोङबीच छलफल भएको छ।

बीआरआई परियोजनाअन्तर्गत चीनले कम्तीमा तीनवटा औद्योगिक पार्क बनाउन नेपाल सरकारसँग लबिङ गरेको छ। प्रधानमन्त्री दाहालले हालै चीनले सार्वजनिक गरेको नक्साबारे समेत राजदूत सोङसँग चासो राखेका थिए। 

चुच्चे नक्साको समाधान पनि कुटनीतिक माध्यमबाटै
नेपालको चुच्चे नक्सालाई मान्यता नदिएकोबारे प्रधानमन्त्री दाहालले चिनियाँ पक्षसँग छलफल गर्ने भएका छन्। २०७७ जेठ ३१ गते संविधान संशोधन गर्दै कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर चुच्चे नक्सा जारी गर्न संसदले अनुमोदन गरेको थियो। नेपाल तथा विदेशीहरूले त्यही नक्सालाई प्रयोग गर्दै आइरहेका छन्।

तर चीनले गत सोमबार जारी गरेको आफ्नो नक्सामा छिमेकी मुलुकहरूको नक्सा सार्वजनिक गर्दा नेपालको पुरानै नक्सा प्रयोग गरेको थियो। सोही विषयलाई लिएर नेपालमा चीनको तीव्र विरोध हुँदै आइरहेको छ।

नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले पुरानै नक्सा प्रयोग गरेकोबारे प्रधानमन्त्रीले भ्रमणका क्रममा चिनियाँ पक्षसँग कुरा राख्ने बताए।

'किन यस्तो हुन गयो। महत्वपूर्ण विषयलाई किन समेटिएन? यस विषयमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्छ। प्रधानमन्त्री चीन भ्रमणमा गएका बेला यस विषयमा पनि कुरा हुन्छ। यस विषयमा सरकार प्रस्ट भएर जनतालाई पनि प्रस्ट पार्नुपर्छ,' उनले भने। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार