आइतवार, श्रावण २४ गते २०८३

हाल सम्म कुन खोप कति आयो ? चैत्र मशान्तसम्म सबैलाई खोप पुग्ने दाबी

शुक्रवार , श्रावण १५, २०७८

काठमाडौं । नेपालमा हालसम्म कोरोना भाइरसविरुद्धको झण्डै एक करोड डोज खोप आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म विभिन्न कम्पनीका ९७ लाख ८२ हजार ८ सय ५० डोज खोप प्राप्त भएको हो । 

चिनियाँ भेरोसेल खोप ५८ लाख, कोभिशिल्ड खोप २४ लाख ४८ हजार र जोन्सन एण्ड जोन्सन खोप १५ लाख ३४ हजार ८ सय ५० डोज प्राप्त भएको मन्त्रालयले जनाएको छ । कोभिसिल्ड खोप भारतले अनुदानस्वरुप दिएको १० लाख, नेपाली सेनालाई प्राप्त एक लाख भारतको सेरम इन्स्टिच्युटबाट खरिद गरिएको १० लाख तथा गाभी कोभ्याक्स सुविधा बापत ३ लाख ४८ हजार डोज प्राप्त भएको मन्त्रालयले प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ ।

अमेरिकाले अनुदानमा जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार ८ सय ५० डोज खोप उपलब्ध गराएको थियो । चीनले दुई पटक अनुदानमा १८ लाख र सिनोफार्म कम्पनीसँग खरिद गरिएको ४० लाख डोज खोप आएको छ । 
सिनोफार्मसँग थप ६० लाख डोज खोप खरिदको सम्झौता अघि बढिसकेको मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण पौडेलले जानकारी दिए ।

साथै कोभ्याक्स सुविधाबाट जापानले अनुदानमा उपलब्ध गराउने १६ लाख र भारतबाट यसअघि नै खरिद गरिएको १० लाख डोज प्राप्त हुँदा असोज मसान्तभित्र एक करोड ८३ लाख ८२ हजार ८ सय ५० डोज प्राप्त हुने अनुमान मन्त्रालयको छ ।

कोभ्याक्सबाट लागत सहभागितामा खरिद गरी १ करोड ५० लाख डोज र १२ वर्ष माथिका बालबालिकालाई ६० लाख डोज फाइजर खोपका लागि पनि सकारात्मक रुपमा अघि बढिरहेको प्रवक्ता पौडेलले बताए ।

गाभी कोभ्याक्सबाट निःशुल्क २० प्रतिशत जनसंख्याका लागि प्राप्त हुने १ करोड १३ लाख डोज पनि क्रमशः प्राप्त हुँदै जाने भएकाले चैत मसान्तसम्म सम्पूर्ण नेपालीको पहुँचमा खोप पुग्ने मन्त्रालयको दाबी छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार