काठमाडौं। दृष्टिविहीन तथा न्यून दृष्टि भएकाहरुका लागि आवश्यक पर्ने पुनस्थापना लागि नेपाल आँखा अस्पताल त्रिपुरेश्वर र नेपाल दृष्टिविहीन कल्याण संघ बिच सम्झौता भएकाे छ।
आँखा अस्पतालका अध्यक्ष डा गोपाल प्रसाद पोखरेल तथा दृष्टिविहीन कल्याण संघका अध्यक्ष तीर्थराज वन्तले आदानप्रदान गरेका छन्।
सहमतिमा समुदाय स्तरमा न्यून दृष्टि भएकाहरुको पहिचान गरी व्यवस्थापन तथा व्यवसायिक तालिम दिई उनीहरुलाई समाजमा पुनः स्थापित गर्ने उल्लेख गरिएकाे छ।
उक्त कार्यक्रममा नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको कार्यसमिति सदस्य विमल कुमार पौडेल, नेपाल आँखा अस्पतालको कार्यकारी अधिकृत धर्मराज गोसाई, नेपाल आँखा अस्पतालमा कार्यरत बरिष्ठ दृष्टि विशेषज्ञ एवं न्युन दृष्टि विशेषज्ञ डा. अरुण प्रसाद ढुंगाना, नेपाल दृष्टिविहीन कल्याण संघका विभिन्न पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
सम्झौता अनुसार दृष्टिविहीन तथा न्युन दृष्टि भएकाहरुको पहिचान गरी उनीहरुलाई निशुल्क आँखा जाँच गर्ने, न्युन दृष्टि उपकरणहरु उपलब्ध गराँउने, व्यवसायिक तालिम दिने, आर्थिक अवस्था नाजुक भएका तथा उपचार वा शल्यक्रिया गराउन आवश्यक पर्ने तर असमर्थ भएका व्यक्तिहरुको निशुल्क वा सहुलियत शुल्कमा उपचार गर्ने योजना समेत रहेको बरिष्ठ दृष्टि विशेषज्ञ एवं न्यून दृष्टि विशेषज्ञ डा.अरुण प्रसाद ढुंगानाले जानकारी गराएका छन् ।