शुक्रवार, आश्विन ३० गते २०८३

३४०.४२३ मेघावाटको बुढीगण्डकी आयोजना सम्बन्धमा विद्युत नियमन आयोगले गर्यो सार्वजनिक सुनुवाई

बुधवार , चैत्र २१, २०८०

काठमाडौं । विद्युत नियमन आयोगले मंगलबार सानो गौचरण स्थित विद्युत विकास विभागको सभा हलमा ३४०.४२३ मेघावाटको बुढीगण्डकी जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युतको खरिद मुल्य निर्धारण गर्ने सम्बन्धमा सार्वजनिक सुनुवाई गरेको छ ।

सरोकारवालाबाट राय सुझाव एवम सल्लाह संकलन गर्ने उदेश्यका साथ कार्यक्रम आयोजनामा आएको हो । सुनुवाई कार्यक्रममा आयोगका अध्यक्ष दिल्ली बहादुर सिंहले विवादमा नफसी, स्थानियलाई असर पर्ने किसिमले कुनै पनि प्रकार कामहरु नगर्न सुझाव दिनुहुँदै स्वदेशी लगानीमा ठुला आयोजना संचालनमा आउनु सुखद पक्ष रहेको र यस आयोजनाले देश विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास आफूले लिएको बताउनुभयो। त्यसैगरि अध्यक्ष सिंहले सार्वजनिक सुनुवाईका क्रममा उठेका र निवेदन मार्फत प्रबद्र्धक कंपनीका विषयमा परेका उजुरीलाई गंभिरतापुर्वक लिईने बताउनुहुँदै प्रवद्र्धक कंपनी टाईम ईनर्जी प्रा.लि.ले बेलैमा विद्युत उत्पादन गर्न सकोस भन्ने शुभेच्छा व्यक्त गर्नुहुँदै शुभकामना समेत दिनुभयो ।

सो अवसरमा आयोगका सदस्य गौतम डङ्गोलले परियोजनाले आसपासका स्थानिय गाउँठाउहरुमा बाटो, घाटो धारा समेत बनाउन सहयोग गर्दै आएको पाईएको उल्लेख गर्नुहुँदै यस्ता विकास गतिविधिमा आयोजनाको साथले देशको समृद्धीमा सघाउ पुग्ने जनाउनुभयो । साथै उहाँले समृद्धिको आधार जल उर्जा भनेर मात्रै नहुने र आयोग नियमनको नाममा जटिल बनाउने भन्दा पनि देशको हितलाई हेरेर सहजीकरण गर्न तयार रहेको बताउनुभयो । त्यसैगरि नेपाल विद्युत प्राधिकरणका निर्देशक राजन ढकालले यस आयोजनाको ग्रिड कनेक्सन एग्रिमेण्ट भैसकेको, पिपिए सहमती गरि आयोगमा पठाई सकेको र आयोगबाट सहमती पछि प्राधिकरणले पिपिए गर्ने जानकारी गराउनु हुँदै यस आयोजनाले लोडसेडिङ्ग अन्त्यमा विद्युत प्राधिकरणलाई ज्यादै सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रम माझ सहभागीहरुले प्रबद्र्धकले कहिलेसम्म सम्पन्न गर्ने हो, लागत मुल्य बढदै जाने समस्या आम भएको र वातावरण प्रभाव बारे सरोकार राखेका थिए। सो क्रममा प्रबद्र्धक कंपनी टाईम ईनर्जी प्रा.लि.का तर्फबाट आयोजनाको प्राविधिक संभाव्यता, लगानीको स्रोत व्यवस्थापन, वातावरणिय प्रभाव आदी विषयमाथि केन्द्रित रहेर कार्य पत्र प्रस्तुत भएको थियो ।

सो अवसरमा टाईम ईनर्जी प्रा.लि.ले समयमै आयोजना सम्पन्न गर्न कंपनी सक्षम रहेको दाबी गरेको थियो । सुनुवाई कार्यक्रममा टाईम ईनर्जी प्रा.लि का अध्यक्ष दिपक मल्होत्राले जलविद्युतमा लगानी गरि यस्ता ठुला आयोजना संचालनले देशको आर्थिक समृद्धिमा ठुलो टेवा पुग्ने हुँदा सरोकारवालाहरुबाट सकारात्मक सहयोगको अपेक्षा आफूले राखेको बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार