काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले गोरखा २ बाट निर्वाचित नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सांसद पदबाट राजीनामा दिन सुझाव दिएका छन् ।
प्रचण्डले चुनावपूर्वको गठबन्धनलाई अर्को निर्वाचनभन्दा पहिले छाड्नु राजनीति र नैतिक हिसाबले उपयुक्त नभएको उनको टिप्पणी छ ।
‘प्रचण्डजीले चुनावपूर्वको गठबन्धनलाई अर्को निर्वाचनभन्दा पहिले छोड्नु त राजनीति र नैतिक हिसाबले उपयुक्त हुँदैन । उहाँले त्यसलाई परिवर्तन गर्ने हो भने जसको सहयोगमा उहाँले निर्वाचन जित्नुभएको छ’, बिहीबार गोरखा पुगेका अध्यक्ष भट्टराईले भने, ‘तीनिहरूलाई त धोका दिएको ठहर्छ । त्यस्तो स्थितिमा उहाँले जितेको निर्वाचन क्षेत्रबाट राजीनामा दिनु र फेरि नयाँ निर्वाचन गर्नु उपयुक्त हुन्छ ।’
उनले प्रचण्ड चुनावदेखि चुनावसम्म मात्रै गोरखा आएको उल्लेख गर्दै आफू सधैँ जनतासँगै भएको जिकिर गरे ।