बिहिवार, आश्विन २९ गते २०८३

प्रधानमन्त्री प्रचण्ड भन्छन् वामपन्थी एकताको प्रक्रियातिर अघि बढिसक्यौं

शुक्रवार , आषाढ १५, २०८१

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले वामपन्थी एकताको प्रक्रियातिर अघि बढिसकेको बताएका छन्। 

काठमाडौंमा शुक्रबार भएको जगतबहादुर बोहराको जीवनी तथा संस्मरण लोकार्पण समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले वामपन्थी एकतालाई सफल पार्न आफ्नो-आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए।

नकारात्मक भाष्य चिर्ने र जनताको पक्षमा अझ राम्रा काम गरेर जनतामा आशा र भरोसा जगाउनेतिर केन्द्रित हुनुपर्ने बेला भएको पनि प्रधानमन्त्री दाहालको भनाइ छ।

उनले क्रान्ति र परिवर्तनका उपलब्धिहरु संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकारले अहिले सरकार सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताए। 

‘क्रान्ति र परिवर्तनलाई यी उपलब्धिहरू संस्थागत गर्दै समाजवादको आधार तयार पार्न यतिबेला सरकार सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकतामा राखेर अघि बढिरहेको छ। सरकारको यस प्रयासमा नेपालका सबै वामपन्थी लोकतान्त्रिक एवं प्रगतिशील शक्तिको साथ र सहयोग रहने विश्वास व्यक्त गर्न चाहन्छु,’ उनले भने।

उनले आफूहरू एकताको प्रक्रियातिर अघि बढिसकेको बताए।

‘हामीले त्यो नकारात्मक भाष्य चिर्ने र जनताको पक्षमा अझ राम्रा काम गरेर जनतामा आशा र भरोसा जगाउनेतिर केन्द्रित हुनुपर्छ। हामी एकताको प्रक्रियातिर अघि बढि नै सकेका छौँ। यसलाई सफल पार्न हामी सबैले आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ,’ उनले भने।

प्रधानमन्त्री दाहालले कम्युनिष्ट र सबै लोकतान्त्रिक शक्तिहरु एकताबद्ध भएर नकारात्मक भाष्य चिर्न लाग्नुपर्ने बताए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार