काठमाडौं । भारतीय नेटवर्क कम्पनी रिलायन्स जियोले विश्वमै सबैभन्दा सस्तो स्मार्टफोन ल्याउने भएको छ ।
रिलायन्स कम्पनीको वार्षिक साधारण बैठकको क्रममा नयाँ ‘जियोफोन नेक्स्ट’को फोटो सार्वजनिक गरिएको छ ।
जसअनुसार यस फोनमा पूर्ण टच डिस्प्ले हुनेछ । यसको पावर र भोलुम बटन फोनको दायाँपट्टि छेउमा हुनेछ । भारतीय अखबार मिन्टका अनुसार जियोले गुगलसँगको सहकार्यमा नयाँ स्मार्टफोन ‘जियोफोन नेक्स्ट’ सार्वजनिक गर्ने भएको हो ।
जुन भारतमा मात्र नभइ विश्वकै सबैभन्दा सस्तो मूल्यको स्मार्टफोन हुने बताइएको छ । यो स्मार्टफोनमा भोइस असिस्टेन्ट फिचर रहेको छ । यसमा भएको ‘स्मार्ट क्यामरा’ फिचरमा एआर फिल्टर पाउन सकिन्छ ।
यो फिल्टरबाट प्रयोगकर्ताले डिजिटल चित्रहरु वास्तविक दुनियाँ रहेको अुनभव लिन सक्छन् ।
‘जियोफोन नेक्स्ट’मा गुगल र जियोका सबै एपहरु हुनेछ । साथै यो फोनले एन्ड्रोइड प्ले स्टोर पनि समर्थन गर्नेछ ।
जियोले हालसम्म ‘जियोफोन नेक्स्ट’का सबै फिचरहरु सार्वजनिक गरेको छैन। ‘जियोफोन नेक्स्ट’ आधिकारिक रुपमा सेप्टेम्बर १० मा बजारमा उपलब्ध हुने समाचारमा जनाइएको छ ।
सुरुमा यो फोन भारतमा सार्वजनिक हुनेछ र पछि अन्य देशहरुमा पाइने मिन्टले आफ्नोसमाचारमा उल्लेखगरेको छ ।